काठमाडौं, १४ जेठ । नेकपा एमालेले उद्योगपति तथा केडिया अर्गनाइजेशनका कार्यकारी निर्देशक सुरेशकुमार केडियालाई विहीबार कलैयाको वघवनबाट हतियारधारी समूहले अपहरण गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
शुक्रबार सचिव कृष्णगोपाल श्रेष्ठले विज्ञप्ति जारी गरी नेपालको प्रतिष्ठित व्यवसायिक घरानाका एक सदस्य तथा सफल उद्योगी व्यवसायी सुरेशकुमार केडियाको अपहरणप्रति घोर निन्दा तथा भत्र्सना गरेका हुन् ।
अपहरणका क्रममा घाइते सवारी चालक श्याम उमेशप्रसाद साह कानुको शीघ्र स्वास्थ्यलाभको कामना पनि एमालेले गरेको छ । स्वास्थ्य उपचारको प्रबन्ध गर्न समेत माग गरेको छ ।
एमालेद्धारा जारी विज्ञप्तिमा नेपालमा संविधान जारी भएर राजनीतिक संक्रमणकाल समाप्त हुँदै देशमा स्थिरताको वातावरण बन्दै गरेको अवस्थामा भएको यो घटना नेपाल राष्ट्रलाई अस्थिरतामा धकेलेर आफ्नो स्वार्थसिद्ध गर्न चाहने राष्ट्रविरेधी तत्वहरुको सुनियोजित षड्यन्त्र हुनसक्ने सम्भावनालाई ध्यान दिंदै अपराधी पत्ता लगाउन, उनीहरुलाई कडा कारवाही गर्न, अपहरित केडियालाई मुक्त गर्न नेपाल सरकार र सुरक्षा निकायको सक्रिय पहलका लागि अनुरोध समेत गरिएको छ ।
‘यस्ता अपराधिक घटनालाई नियन्त्रणमा लिएर नेपालमा लगानी तथा व्यावसायिक वातावरण बनाउन, शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गरी लगानीकर्ताहरुलाई पूर्णरुपले आश्वस्त गर्नसमेत सरकारको ध्यानाकर्षण गर्दछ,’ एमालेले आफ्नो विज्ञप्तिमा भनेको छ– ‘साथै यस्ता घटनाबाट विचलित नभई आफ्नो उद्योग, व्यापार/व्यवसायलाई निरन्तर अघि बढाउन सम्पूर्ण व्यवसायी समुदायीमा हार्दिक अपिल गर्दछ ।’













प्रतिक्रिया