काठमाडौं, १४ जेठ । भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माण अनुदान रकम वितरण सम्बन्धी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन तथा फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा आज दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा अनुदान पाउन छनोट सूचीमा परेका घरधनीहरुलाई बैंक खातामार्फत रकम उपलब्ध गराउनेछन् ।
यसरी रकम उपलब्ध गराउँदा सदरमुकाममा रहेका बैंकहरुले प्रत्येक शाखामा दैनिक न्यूनतम ५० वटा र सदरमुकाम बाहिर रहेका शाखामा दैनिक न्यूनतम २० वटा घरधनीको कारोबार निस् शुल्क गर्नेछन् ।
सो भन्दा बढी संख्याका घरधनीलाई अनुदान वितरण गर्दा प्राधिकरणले प्रति घरधनी २२५ रुपैयाँका दरले सम्बन्धित बैंकलाई भुक्तानी दिने व्यवस्था मिलाउनेछ ।
यस समझदारीबाट आधारमा जिल्लाको भूगोललाई क्षेत्रगत रुपमा छुट्टाई सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सात दिनभित्र संख्यात्मक उपस्थितिका आधारमा प्राधिकरणसँग सम्झौता गरी अनुदान वितरणमा सहभागी हुनु पर्ने व्यवस्था भएको छ ।
यस्तै अनुदान सम्झौता भइसकेका जिल्लाहरुमा तत्काल अनुदान रकम वितरण गर्न स्थानीय विकास अधिकारीले सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जिल्लाका सबै भौगोलिक क्षेत्रलाई समावेश गर्ने गरी अनुदान वितरण गराउन सक्ने व्यवस्था पनि गरिएको छ ।
समझदारी अनुसार प्राधिकरणले विद्युतीय प्रणाली मार्फत Excel & PDF Format मा सम्बन्धीत बैंकको केन्द्रीय कार्यालयलाई उपलब्ध गराएको घरधनीको विवरणको आधारमा सम्बन्धीत बैंकहरुले एकमुष्ठ रुपमा घरधनीको उपस्थिति विना नै शुन्य मौजदात खाता (Dummy Account) खोल्ने व्यवस्था मिलाउनेछन् ।
यस्तै सम्झौता सम्पन्न भएका गाविस तथा नगरपालिकाका सचिव तथा वडा सचिवहरुबाट प्राधिकरणले तोकेको फाराममा सम्झौता गरेका घरधनीहरुको नामावली सहितको विवरण सम्बन्धीत बैंक तथा जिल्ला विकास समितिमा पठाइनेछ । यही नामावलीको आधारमा जिल्ला विकास समितिले अनुदान भुक्तानी दिनेछ भने बैंकहरुले गाविस वा नगरपालिकाबाट प्राप्त विवरणका आधारमा सम्झौता पत्र र नेपाली नागरिकता प्रमाणपत्र भिडान गरी सम्बन्धित घरधनीलाई रकम उपलब्ध गराउनेछन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समझदारीबाट सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता हुने र यसले सम्बन्धीत घरधनीहरुले छिट्टै अनुदान रकम पाउने वातावरण सिर्जना भएको बताउनुभयो ।
नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष कृष्णराज लामिछाने र फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनका अध्यक्ष सरोजकाजी तुलाधरले आवश्यक तयारी पूरा गरेर भूकम्प प्रभावित क्षेत्रका जनताले छिटो अनुदान रकम पाउने गरी काम गर्ने बताउनुभयो ।
समझदारी पत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया, नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष कृष्णराज लामिछाने र फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनका अध्यक्ष सरोजकाजी तुलाधरले हस्ताक्षर गर्नु भएको छ ।
यस्तै साक्षीमा प्राधिकरणका सहसचिव जनार्दन गुरागाईं, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डे रहनु भएको छ ।
















प्रतिक्रिया