२९ आश्विन २०८३, बिहिबार

यस्तो छ प्रचण्ड र बाबुरामबीचको सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-prachanda

काठमाडौँ, २४ साउन । एकीकृत नेकपा(माओवादी)भित्र देखिएको पछिल्लो विवाद समाधान गर्न अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा बाबुराम भट्टराई सहमत हुनुभएको छ ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा शुक्रबार भएको छलफलमा विवादलाई सकारात्मक तवरले हल गर्ने र समानान्तर समिति गठन भएका जिल्लामा छुट्टै संरचना बनाउने सहमति भएको छ ।

पार्टीको स्थायी समितिको बैठकमा तीन पटक भन्दा बढी उपस्थित नभएको भन्दै सचिव टोपबहादुर रायमाझी र स्थायी समिति सदस्य देवेन्द्र पौडेललाई हटाएको तथा समानान्तर समिति गठन गरेको अभियोगमा नेता गङ्गानारायण श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरेपछि एमाओवादीको विवाद उत्कर्षमा पुगेको थियो ।

‘सबै विवादलाई सकारात्मक ढङ्गले हल गर्ने विषयमा दुई शीर्ष नेताबीच छलफल भयो’ अध्यक्ष दाहालका स्वकिय सचिव चुडामणि खड्काले भन्नुभयो–‘‘ विवाद बढाउने भन्दा पनि घटाउन दुवै पक्ष लचक हुने सहमति भएको छ ।’’

संस्थापन पक्षले पेलेको भन्दै नेता डा भट्टराई पक्षले मकवानपुर, सिन्धुली, धनुषा,बैतडीलगायतका जिल्लामा समानान्तर समिति गठन गरेको थियो ।

समानान्तर समिति गठन गर्नु पार्टीको विधि विपरित भएको भन्दै संस्थापनले सो कार्यमा सङ्लग्न भएको आरोपमा नेता श्रेष्ठ र यादवलाई निलम्बन गरेको थियो ।