१ कार्तिक २०८३, आइतबार

घोराही सिमेन्टलाई उत्पादन रोक्न आदेश, बजारमा गएको सिमेन्ट फर्काउन पत्राचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorahi-cementदाङ, १२ जेठ । लक्ष्मीपुर गाविसको गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योगले उत्पादन गरेको ओपिसी सिमेन्ट गुणस्तरहिन भएपछि नेपाल गुणस्तर तथा नापतौल बिभागले विक्रिमा रोक लगाएको छ ।

विभागले उत्पादन बन्द गर्न र बजारमा गएको सो मितिको सिमेन्ट फर्काउनका लागि निर्देशन दिएको भएपनि बजारबाट सिमेन्ट फिर्ता गरिएको छैन ।

घोराही सिमेन्ट उद्योगमा आएर गत माघको १२ गतेका दिन गुणस्तर तथा नाप तौल विभागले ओपिसी सिमेन्टको नमूना जाँच गरेको थियो । नमूना जाँचका क्रममा सिमेन्टको गुणस्तर नभएको पाइएपछि विभागले गत बर्ष २०७२ चैतको ३० गतेका दिन घोराही सिमेन्ट इन्डष्ट्रिजलाई पत्र पठाएको थियो ।

यसरी पठाइएको स्पष्टिकरण पत्रमा २०७२ चैत ३० गतेको मितिमा घोराही सिमेन्ट ईन्डष्ट्रिज प्रालिलाई बिभागले माघ १२ गते अनुुगमन गर्दा संकलित ओपीसी सिमेन्टको नमुना प्रयोगशालामा परिक्षण गराउदा नतिजामा Insoluble Residue / Mangnesia को मान नेपाल गुुणस्तर २०४९ अनुरुप नदेखिएको बताइन्छ ।

सोही समयमा विभागले उद्योगलाई सो मितिमा उत्पादित सिमेन्ट बजारबाट फिर्ता लिई आफ्नो उत्पादन ओपीसीको बिक्री बितरण बन्द गर्न र नेपाल गुणस्तर प्रमाण चिन्ह नियमाबली २०४९ को नियम १६ बमोजिम कारबाही किन नगर्ने भनि स्पष्टिकरण मागेको थियो । विभागले १५ दिन भित्र लिखित स्पष्टिकरण माग गरेको भएपनि उद्योगले हालसम्म स्पष्टिकरण नबुझाएको उद्योग स्रोतको भनाई छ ।

सिमेन्ट उद्योगका एक जना कर्मचारीले नाम नबताउने सर्तमा दिएको जानकारी अनुसार बिभागले घोराही सिमेन्ट उद्योगलाई आफ्नो सबुत सहित सुधारका लागि लिने करेक्टीभ एक्सन सहित १५ दिन भित्र बिभागमा स्पष्टिकरण पेश गर्न ०७२ चैत ३० को निर्णय अनुसार जानकारी गराएको थियो । बिभागले यस प्रकारको स्पष्टिकरण सहित ओपीसी सिमेन्टको उत्पादन र बिक्री बितरणमा रोक लगाउन भनेको भएपनि उद्योगले ओपीसी सिमेन्ट उत्पादन र बजारमा बिक्री बितरण गरिरहेको पाइएको छ ।

उद्योगका जनसम्पर्क अधिकृत विकास शर्माले आफूहरुलाई गुणस्तर तथा नापतौल विभागले कुनै पनि खालको पत्र नपठाएको दावी गर्नुभयो । उहाँले आफूहरुलाई कतैबाट पनि यस्तो खालको पत्र नआएको जानकारी दिनुभयो । उद्योगलाई पत्र आएको बारेमा उद्योग प्रशासन बोल्न नमानेको भएपनि विभागले पठाएको पत्र हामीलाई प्राप्त भएको छ । पत्रमा उद्योगलाई तत्कालका लागि ओपिसी सिमेन्टको उत्पादन र विक्रि वितरणमा रोक लगाउने भनेको छ ।

नेपाल गुणस्तर तथा नाप तौल विभागका निर्देशक आलोक कुमार मिश्रले लेख्नुभएको स्पष्टिकरण पत्रमा गत चैतको ३० गतेको निर्णय अनुसार स्पष्टिकरण पेश गर्न भनिएको छ । करिव डेढ महिनासम्म पनि उद्योगले पहिले उत्पादन गरेको सिमेन्ट फिर्ता नगरेपछि उपभोक्ताहरु मर्कामा पर्ने देखिएको छ । घोराही सिमेन्ट उद्योगले सगरमाथा नामक ओपिसी र पिपिसी सिमेन्ट उद्योग उत्पादन गर्दै आएको छ । ओपिसी सिमेन्टको प्रयोग घरको जग, पिलर, ढलाई, विम लगायत पुल निर्माणका लागि प्रयोग गरिन्छ भने पिपिसी सिमेन्टको प्रयोग पलस्तर र जोडाइका लागि प्रयोग गर्ने गरिन्छ ।

घोराही सिमेन्ट उद्योगमा विक्रि प्रमुखका रुपमा रहनुभएका आदित्य सर्राफले त्यस्तो खालको पत्र आएको बारेमा कुनै जानकारी नभएको बताउनुभयो । घोराहीमा रहनुभएका जनसम्पर्क अधिकृत शर्मासंग जानकारी माग्दा विक्रि प्रमुखलाई थाहा हुने बताउनुभयो भने सर्राफसंग जानकारी माग्दा मार्केटिङलाई थाहा हुने बताउनुभयो । यसरी एकजनाले अर्कोलाई बताउने र अर्कोलाई बताउँदा घटना झनै रहस्यमय बन्न पुगेको छ ।