१ कार्तिक २०८३, आइतबार

हुलाकी सडक निर्माणको काम रोकियो, भारतीय कम्पनी फिर्ता जाँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hulaki Sadak Nepal
फाइल तस्वीर

– हेमन्त पौडेल
धनगढी, १२ जेठ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको हुलाकी सडकको काम रोकिएको छ ।

कैलालीको सदरमुकाम धनगढीको क्याम्पसचौकदेखि कैलालीको पूर्वी क्षेत्र सत्तिसम्मको करिब ६१ किलोमिटर सडक निर्माणको काम भारत सरकारको आर्थिक सहयोगमा भारतकै निर्माण कम्पनी जिआर गाभरले सन २०११ जनवरीदेखि निर्माण कार्य शुरु गरेको थियो ।

दुई वर्ष छ महिनामा सडकको निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि सडक निर्माणको समय अवधी बढेर पाँच वर्ष पुगेको छ । तर यस अवधीमा पनि धनगढी सत्ति सडक खण्डको रतनपुर क्षेत्रमा रहेका रुख नहटाएका कारण सकड निर्माणको काम अघि बढ्न नसकेको हुलाकी सडक आयोजना फिल्ड कार्यालय धनगढीले जनाएको छ । धनगढीदेखि सत्तिसम्मको ६१ किलोमिटर र खक्रौलादेखि टीकापुर हुँदै लम्की सम्मको २७ किलोमिटर सडक निर्माणकालागि भारत सरकारले १३५ करोड रकम छुट्याएको थियो तर रतनपुर गाविसमा पर्ने वसन्ता वन क्षेत्रमा पर्ने रुख कटानीमा भएको ढिलाईले हुलाकी सडक निर्माणले पूर्णता पाउन नसकेको आयोजनाका इन्जिनियर मानसिंह धामीले बताउनुभयो ।

रतनपुर गाविसदेखि साबिकको लालबोझी गाविससम्मको करिब १८ किलोमिटर सडक अधुरै रहेको छ । भारत सरकारको आर्थिक सहयोगमा जिआर गाभरले निर्माणको कामलाई तिब्रगतिमा गरेपनि नेपाल पक्षको रुख कटानीमा भएको ढिलाईले सडक निर्माणको काम अधुरै रहेको हसुलिया बजार ब्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय बासिन्दा नेपालु चौधरीले बताउनुभयो । ‘पश्चिम महाकाली देखि पूर्व मेचीसम्मको हुलाकी सडकको काम कैलालीमा राम्रो गतिमा अघि बढेको थियो तर हाम्रै कम्जोरीले सडकले पूर्णता पाएन,’ चौधरीले भन्नुभयो । १८ किलोमिटर बाकीमध्ये १२ किलोमिटरमा जंगल रहेको छ त्यसमा पनि १० किलोमिटरको रुख कटानी भइसकेको अवस्थामा बाँकी २ किलोमिटरको दूरीमा रहेको २३६ रुख कटानी नभएका कारण सडक निर्माणको काम रोकिएको हो । १८ किलोमिटर सडक छोडेर धनगढी सत्तिसम्म र खक्रौला लम्की सम्मको २७ किलोमिटर सकड निर्माण गर्दा १०१ करोड रकम खर्च भइसकेको भारत सरकारको तर्फबाट सडक निर्माणको कन्सलटेन्सीको काम गरिहरेको राइट्सका प्रतिनिधिले जानकारी दिएकाछन् ।

सो क्षेत्रका रुख काट्नकालागि जिल्ला वन कार्यालयले बन विभागमा पठाएको र विभागले मन्त्रालयमा फायल पठाएपनि त्यसको कुनै निर्णय नआएकाले रुख कटानीमा ढिलाई भएको छ । हाल पश्चिमबाट पवेरा गाविस पार गरि रतनपुर गाविसको सीमासम्म र पूर्व नारायाणपुर गाविसको सत्तिबाट लालबोझी गाविसको काँडा नदीसम्म सडक निर्माणको काम पूरा भएको छ ।

रतनपुर गाविसको बसन्ता जंगल क्षेत्रमा पुगेपछि सडक गाउँबाट लैजानेकी जंगल कटानी गरेर भन्ने विवाद देखिएपछि सडक निर्माणको काम रोकिएको हो ।

भारतीय ठेकेदार कम्पनीले पहिला तयार गरेको नक्साअनुसार नै निर्माण गर्ने बताएको तर नेपालका तर्फबाट जंगलको बीचबाट लैजाँदा बसन्ता करिडोर क्षेत्र अतिक्रमणको चपेटामा पर्ने भन्दै पहिलादेखि चलनचल्तीको अवस्थामा रहेको गाउँको बाटोबाट सडक लैजाने भनेपछि कुरा नमिलेर काम रोकिएको जिल्ला वन कार्यालय कैलालीका प्रमुख डा. सिन्धुप्रसाद ढुंगानाले बताउनुभयो ।

हाल बसन्ता क्षेत्रमा गत केही वर्षदेखि विभिन्न बाहानामा जंगल अतिक्रमण हुँदैआएको छ । जैविक मार्गमा घर बनाउन नपाउने ब्यवस्था भएपनि हाल बसन्ता करिडोरमा अतिक्रमणको क्रम निकै बढेको जिल्ला वन अधिकृत ढुंगानाले बताउनुभयो । हुलाकी मार्ग सिधा जंगलबाट लगेमा हुलाकी सडकभन्दा दक्षिणतिरको पूरै भाग अतिक्रमण हुन भएकाले पुरानै वस्तीको बाटोभएर हुलाकी सडक लैजानुपर्ने भन्दै काम रोकिएको उहाँले जानकारी दिनुभयो ।

सडक निर्माणको काम भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुनेभएपनि सो सडकमा पर्ने पुल निर्माणको काम भने नेपाल सरकारले गर्नुपर्ने सहमति भएको छ । हाल धनगढीदेखि सत्तिसम्म करिब १२ वटा पुल निर्माण गर्नुपर्ने भएपनि ६ वटामात्र निर्माण कार्य सम्पन्न भएकाछन भने ६ वटा बाँकी नै रहेका छन् ।

हसुलियाको सुर्मी नाला र पवेराको कट्नी नदीमा पुल निर्माण भइरहेको छ । सुर्मीमा निर्माणको काम भइरहेको छ भने कट्नीमा ३२ एमएमको सरिया नपाएर काम रोकिएको निर्माण कम्पनीका इन्जिनियर अविनाश रेग्मीले जानकारी दिनुभयो । बाँकी अन्य पुलको निर्माण काम भएको छैन ।

आगामी नेभेम्वर महिनासम्म पुल निर्माण सम्पन्न गरेमा पुलको पूर्वपश्चिमको सडक कालोपत्रे गर्ने राइट्सले जनाएको छ । आगामी नोभेम्वरमा यहाँको सम्पूर्ण बुझ बुझार्थ गरि भारत फर्कने एक अधिकारीले जानकारी दिए । हुलाकी सडकको अवको काम भारत सरकारको आर्थिक सहयोगमा नेपाल सरकार आफैले निर्माण गर्ने सम्झौता भएको छ ।