काठमाडौं, १२ जेठ । नेकपा (एमाले) केन्द्रीय कमिटीले गरेका पछिल्ला निर्णय अलपत्र परेका छन् । केन्द्रीय विभागको पूर्णता, सरकार र पार्टीबीच समन्वयका लागि संयन्त्र बनाउनेदेखि प्रादेशिक कमटी गठनसम्मका पछिल्ला निर्णय एक महिनादेखि अलपत्र परेका हुन् ।
गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमटी बैठकले एक साताभित्र विभागहरूको टुंगो लगाउन महासचिव ईश्वर पोखरेल संयोजक रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा सचिवद्वय पृथ्वी सुब्बा गुरुङ, र गोकर्ण विष्ट सदस्य छन् । बुधबार साप्ताहिकले समाचार छापेको छ ।
तर, एकमहिना बितिसक्दा पनि कार्यदलको बैठक एकपटकभन्दा बढी बसेको छैन । ३१ मध्ये २२ वटा विभागमा रहने सदस्यहरूको मात्रै नाम टुंगो लागेको छ ।
संगठन विभागलगायतका महत्वपूर्ण विभागमा रहने सदस्यहरूको नाममाथि छलफल नै अघि बढेको छैन । महासचवि पोखरेलको निस्क्रिय तथा कार्यदलका सदस्य गुरुङ जापान भ्रमणमा रहेका कारण विभागले पूर्णता पाउन नसकेको हो ।
प्रधानमन्त्री केपी ओलीले स्थायी समितिमा सरकार सञ्चालनका लागि समन्वय गर्न संयन्त्र बनाउने प्रस्ताव अहिलेसम्म पेस गरेका छैनन् ।
केन्द्रीय कमिटीका तीन महत्वपूर्ण निर्णय कार्यान्वयन नगरेर पुनः विधि, प्रक्रिया र संस्थागत पद्धतिलाई ठाडै चुनौती दिइएको एक केन्द्रीय सदस्यले बताए ।















प्रतिक्रिया