काठमाडौं, २३ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा कसैलाई पनि गुटवन्धीको नाममा लाखा–पाखा नगर्ने बताउनु भएको छ ।
एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले शुक्रबार राजधानीमा आयोजना गरेको २०७० सालको एसएलसी परीक्षामा झापाको सामुदायिक विद्यालयतर्फका उत्कृष्ट विद्यार्थीलाई सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
‘म सकभर पाँच वर्ष नपुग्दै अध्यक्षबाट बहिर्गमन हुने सोचमा छु,’ उहाँले भन्नुभयो,’ ‘त्यसैले अर्को कार्यकाल अध्यक्ष बन्ने चाहना नभएकाले गुटबन्दी गर्न मलाई जरुरी छैन ।’
उहाँले अर्को कार्यकाल अध्यक्ष बन्ने चाहना नराखेकाले कसैको आलोचनाको शिकार पनि नहुने दाबी गर्नुभयो । ओलीले बाँचुन्जेल पार्टीलाई फराकिलो र गतिशील बनाउन लागि पर्ने भन्दै आफु पदको लोभैलोभले जीन्दगीको आँखा चिम्लने पक्षमा नरहेको पनि खुलस्त बताउनु भयो ।
ओलीले अरुलाई पदका लागि मरिहत्ते गर्नु हुँदैन भनेर उपदेश दिनेमात्र नभई त्यसको उदाहरण आँफै बन्ने पनि दाबी गर्नुभयो । एमालेमा काम नपाएको ठूलो पंक्ति भएकाले त्यो समूहलाई साथमा लिएर पार्टीलाई नमूना बनाउने पनि उहाँले ठोकुवा गर्नुभयो ।
नवौँ महाधिवेशनका बेला भएका तीतामीठा सवै कुरालाई बिर्सन नेता कार्यकर्तालाई आग्रह गर्दै उहाँले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न सुझाव दिनुभयो ।
त्यसैगरी उहाँले एमाले दाँत झिकेको र विष नभएको गड्यौलो जस्तो पार्टी नभएको भन्दै तोकेको समयमै संविधान जारी गर्ने दाबी पनि गर्नुभयो ।
















प्रतिक्रिया