काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि आह्वान गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सोमबार पत्र लेखेपछि संघीय गठबन्धनमा एक पटक फेरि आन्तरिक विवाद चुलिएको छ ।
पत्रको जवाफ कसरी दिने र वार्तामा बस्ने कि नबस्ने बारे मधेशी मोर्चामा छलफल चलि रहँदा संघीय गठबन्धनका केही नेताहरूले वार्ता बहिष्कार गर्ने र प्रमले बोलाएको त्रिपक्षीय छलफलमा नबस्ने सूचना प्रवाह गरेका छन् । संघीय गठबन्धनमा आबद्ध फोरम नेपालका नेताहरूले विभिन्न अनलाईनहरूमा फोन गरि मधेशी मोर्चा वार्ताको बहिष्कार गर्ने र संघीय गठबन्धनलाई पत्र नपठाएसम्म मधेशी मोर्चा वार्तामा नबस्ने समाचार सम्प्रेषण गराएका छन् ।
तर, मधेशी मोर्चाका अन्य घटक दलहरूसंग यस सम्बन्धमा जिज्ञासा राख्दा उनीहरू पनि यस्ता समाचार देखेर छक्क परेका छन् । यस सम्बन्धमा जिज्ञासा राख्दा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूलाई वार्ता बहिष्कार गरेको अथवा संघीय गठबन्धनलाई पत्र नआएसम्म वार्तामा नबस्ने निर्णय गरेको कुनै जानकारी नरहेको प्रतिक्रिया दिए ।
ठाकुरले भने– ‘अहिले हामी आन्तरिक छलफलमै व्यस्त छौं । मोर्चाको औपचारिक बैठक बसेर प्रधानमन्त्री ज्यूको पछिल्लो पत्रबारे आफ्ना धारणा सार्वजनिक गर्नेछौं ।’ अहिलेसम्म कुनै निर्णय नभई सकेको र विभिन्न अनलाईनहरूमा आईरहेको समाचारमा कुनै सत्यता नरहेको बताए ।
महन्थ ठाकुरले उपेन्द्र यादवको तर्फ इशारा गर्दै भने– ‘गठबन्धनका केही नेताहरू आफ्नै मनले गठबन्धन चलाउने, मनपरी गर्ने र अन्य साथीहरूसंग छलफल नै नगरि मोर्चाको नाममा निर्णय सार्वजनिक गर्ने गरेका छन् । जुन मोर्चाको लागि हितकर छैन् । उनले गठबन्धनको नाममा मधेशी मोर्चाको बलि चढाउन नपाउने बताए ।
उता सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी मोर्चाको नाममा कुनै एक पार्टीका नेताले सिंगै मोर्चाको निर्णय भनेर गरिएको प्रचारप्रति निकै आक्रोश व्यक्त गरे । महतोले भने– ‘मोर्चालाई पत्र पठाउँदा गठबन्धनलाई किन टाउको दुखाई भई रहेको छ । मधेशी मोर्चाको आफ्नो अस्तित्व छ, आफ्नो पहिचान छ र मोर्चाको नाममा पत्र आएपछि गठबन्धनका केही नेताहरूलाई आपत्ति नहुनुपर्ने हो ।’
मोर्चाले गरेको ६ महिनाको आन्दोलन, आन्दोलनका क्रममा भएका शहीद र घाईतेहरू समेतको अस्तित्वलाई समाप्त पार्ने षड्यन्त्र भई रहेको महतोले बताए ।
उनले भने– ‘हामीले सहृदयतापूर्वक गठबन्धनको अस्तित्वलाई स्वीकारेका छौं भने गठबन्धनले पनि मोर्चाको पहिचान अस्तित्व र योगदानलाई कदर गर्नै पर्छ ।’















प्रतिक्रिया