२५ कार्तिक २०८३, बुधबार

‘विप्लव’ माओवादीको गोप्य बैठक, माओवादी केन्द्र भगौडाहरूको झुण्ड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netrabikram Chand Biplabकाठमाडौं, ११ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)लाई जनयुद्धका विरोधीहरूको झुण्डको संज्ञा दिएको छ ।

दुई दिनसम्म राजधानीमा बसेको ‘विप्लव’ माओवादीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलाई जनयुद्धका विरुद्ध धोका दिने जमातको समूह भएको जनाएको हो । प्रवक्ता खड्क विश्वकर्माले माओवादी केन्द्र विचलनवादी र क्रान्तिकारीहरूविरुद्ध लागेका समूहको झुण्ड रहेको भन्दै अवसरवादीहरूको जमात रहेको बताउनुभयो ।

‘क्रान्तिकारीविरुद्ध लाग्ने र पार्टीलाई नोक्सानी गर्नेविरुद्ध नेकपा माओवादी कडा रुपमा प्रस्तुत हुन्छ’, उहाँले भन्नुभयो, ‘दुश्मनको हतियार बन्ने कसैले मुर्खता गरे कारबाही हुन्छ ।’

प्रवक्ता विश्वकर्माले वर्तमान राज्यसत्ता जनघाती, माफिया, दलाल, नोकरशाहीको रहेको भन्दै जनवादी सत्ताका लागि संघर्ष अनिवार्य भइसकेको बताउनुभयो । ‘अहिलेको राज्यसत्ता जनताको पक्षमा छैन’, उहाँले भन्नुभयो, ‘महँगी, भ्रष्टाचार, कालोबजारीविरुद्ध सडक संघर्ष हुन्छ ।’

पार्टीको सांगठनिक विषयलाई चुस्त र दुरुस्त बनाउने निर्णय गरेको ‘विप्लव’ माओवादीले पार्टी छाडेर गएका सीमित नेताहरूको विषयमा धेरै टिकाटिप्पणी नगर्ने जनाएको छ । ‘पार्टी छाडेर, क्रान्तिलाई धोका दिएर जाने भगौडाहरूका विषयमा सोच्ने फुर्सद हामीलाई छैन’, प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘त्यो झुण्डको पछाडि हामी छैनौँ ।’

दुई दिनसम्म राजधानीको अज्ञात स्थानमा बसेको ‘विप्लव’ माओवादीको बैठकले अरु पनि थुप्रै निर्णय गरेको छ ।