काठमाडौं, १० जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको महत्वकांक्षी प्रस्तावका कारण राप्रपा र राप्रपा नेपालबीचको पार्टी एकता दिनप्रति दिन टाढिँदै गएको छ ।
राप्रपा नेपालका अध्यक्ष थापाले चुनाव चिन्ह गाईका साथै कार्यकारी अध्यक्ष आफैले राख्न प्रस्ताव गर्दै राप्रपालाई पत्र पठाएपछि दुई पार्टीका एकीकरण प्रयासलाई केही धक्का पुग्ने अवस्थामा पुगेको हो । अध्यक्ष थापाले राप्रपा समक्ष पठाएको प्रस्तावमा पार्टीको झण्डा राप्रपाकै प्रयोग गर्ने उल्लेख रहे पनि झण्डामा चुनाव चिन्ह गाई राख्न प्रस्ताव गरिएको छ ।
अध्यक्ष थापाले राष्ट्रिय अध्यक्ष र पदाधिकारी जति पनि राप्रपालाई दिन प्रस्ताव गरेको स्रोतको भनाइ छ । आगामी छ महिनाभित्र एकता महाधिवेशनको प्रस्ताव गरिए पनि पार्टी एकीकरणको नयाँ प्रस्तावलाई राप्रपाले मन पराएको छैन । पार्टीको नाम भने राप्रपा राख्न थापाले स्वीकार गरेका छन् ।
राप्रपा निकट स्रोतले भन्यो, ‘कार्यकारी अध्यक्षसहितका पद राप्रपा नेपालका अध्यक्ष कमल थापालाई दिने हो भने राप्रपाका नेताहरूले के गर्ने हुन् ? यस्तो पनि एकताको प्रस्ताव हुन्छ । राप्रपा नेपालको प्रस्तावका विषयमा दुबै दलका अध्यक्षहरूको बैठक बसेर निर्णय लिनुपर्छ । वार्तास्तरीय टोलीबाट यो कुरा मिल्न गाह्रो छ ।’
राप्रपा नेपालले एकताका लागि प्रस्ताव पठाएपछि राप्रपाको वार्ता टोलीको आज काठमाडौंमा बैठक बसेर समीक्षा गरेको थियो । तर, सो प्रस्तावप्रति वार्ता टोली पनि खासै सकारात्मक छैन ।












प्रतिक्रिया