२५ कार्तिक २०८३, बुधबार

संविधान पुनर्लेखन नभएसम्म वार्ता पनि हुँदैन, आन्दोलन पनि रोकिँदैन्ः यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-Yadav-1

काठमाडौँ, ९ जेठ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान पुनर्लेखन र विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्ने विषयमा ठोस राजनीतिक निर्णय नगरेसम्म बार्ता हुनै नसक्ने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘वार्ता गर्ने भए सरकार ठोस राजनीतिक निर्णयसहित आउनुपर्छ । संविधानको पुनर्लेखन गर्ने र विगतका सहमति कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहित सरकार वार्तामा आउनुपर्छ । नभए बार्ता सम्भव छैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पछिल्लो पटक वार्ता भंग गरेको आरोप लगाउँदै भने- ‘पुनर्लेखनसहितका विषयहरु गर्न सकिदैन भनेपछि के को लागि बार्ता गर्ने ? अहिले सरकारले देश र दुनियाँलाई झुक्याउन बार्ता गर्न खोजिरहेको छ ।’

उनले संविधानमा रहेको विभेदपूर्ण र त्रुटिपूर्ण प्रावधानहरुलाई हटाएर अरु शब्द राख्ने विषय नै पुनर्लेखन भएको स्पष्ट पार्दै यो राजनीतिक विषय भएकाले यसमा राजनीतिक निर्णय गर्नसके मात्रै समस्याको समाधान हुनसक्ने दावी गरे । उनले भने, ‘संविधान संशोधन पनि पुनर्लेखन नै हो । संविधानमा रहेका विभेदकारी धारा हटाएर अर्कै लेख्ने काम हो । अघिल्लो संशोधनले जनताको माग संबोधन गरेन ।’

यादवले बार्ता टोलीका संयोजक कमल थापाले पहिलाकै बार्तामा आफूले विषय टुङग्याउन नसक्ने शीर्ष तहमै बार्ता गर्नुपर्छ भनेर आत्मसमर्पण गरिसकेपछि फेरि उनलाई नै अघि सार्नु सरकारको बार्ता नगर्ने नियत भएको आरोप लगाउँदै गणतन्त्र लगायतका मामिलामा थापाको विचार नै गलत भएकोले उनीसँगको बार्ताबाट कहिल्यै पनि निष्कर्षमा पुग्न नसकिने स्पष्ट पारे । उनले सरकारले बार्ताको लागि आब्हान गरेपनि अहिलेसम्म संघीय गठबन्धनलाई बार्ताको लागि कुनै पत्र नआएको स्पष्ट पारे ।

उनले बर्तमान संविधान जारी गर्ने तत्कालिन राष्ट्रपति डा. रामबरण यादवले संविधान अपुरो छ भनिसकेको, संबैधानिक समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान पूर्ण नभएको, तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले हतार गरेर हामीले भुल गर्यौ भन्नु र एमाओवादी अध्यक्ष प्रचण्डले अहिले पो मैले यो संविधानमा त्रुटी नै त्रुटी छ भनेर थाहाँ पाएको भनि अभिब्यक्ति दिनु त्यसैगरी विदेशी विद्धानहरुले पनि संविधान गलत रुपमा लेखिएको, विभेदकारी रहेको, एकल जातीय अहंकारलाई मुर्त रुप दिने भएकोले नश्लबादी र असमावेशी भनेर भनिसकेपछि यसले सबै समूदाय र क्षेत्रको भावनालाई संबोधन गर्न नसक्ने स्पष्ट भईसकेको दावी गर्दै संविधान कसैलाई प्रधानमन्त्री, राष्ट्रपति र कसैलाई सरकारमा जान भएको हतारमा गलत तरिकाले संविधान लेखिएकोले यसको पुनर्लेखनको विकल्प नभएको दावी गरे ।

यादवले अहिले पनि सरकारले आन्दोलनलाई दबाएर जाने सोचे र उखान टुक्का मात्रै गरिरहे आन्दोलन अर्कै रुपमा जाने चेतावनी दिदै भने, ‘नश्लबादी चिन्तनले जर्मनलाई दुई वटा बनायो, भारतलाई तीन टुक्रा बनायो । केपी शर्मा ओली एण्ड कम्पनीले नसोचे नचिताएको कुरा हुन्छ ।’

उनले जनताले नै संविधान नस्विकारेपछि कुन निकायले संविधान बनायो भन्ने कुराको अर्थ नहुने दावी गर्दै सरकारले अहिले नै नसोचे आन्दोलनले उग्र रुप लिदै जनआन्दोलनमार्फत अहिलेको संविधान नै बर्खास्त हुने चेतावनी दिए । उनले भने, ‘यो कुरा सोच्ने कि नसोच्ने बल सरकारकै कोर्टमा छ ।’

यादवले विगतमा मधेस आन्दोलनलाई राष्ट्रियता खण्डित गर्ने, साम्प्रदायिकता, जातिय, क्षेत्रीय लगायतका आरोप लगाउने गरिए पनि अहिले हिमाल, पहाड र मधेस मिलेर आन्दोलन गर्दा त्यो भ्रम चिरिएको दावी गर्दै आफूहरुको आन्दोलन धार्मिक, सांस्कृतिक, जातीय सम्बन्ध मजबुद बताउने र भावनात्मक रुपमा राष्ट्रको एकता गर्न भएको बताए ।

उनले भने, ‘मधेसको सवाल अब मधेसको मात्रै होईन राष्ट्रिय सवाल हो । निश्चित समूहको सवाल मात्रै भन्ने हो भने त्यो समाधान हुँदैन, यो आन्दोलनले राष्ट्रिय सवाल हो भन्ने भावना विकसित गरेको छ ।

यादवले आफूहरुको आन्दोलन राष्ट्रियता, राष्ट्रिय एकता बलियो बनाउने, देश भक्तिपूर्ण र देशलाई बचाउने आन्दोलन भएको दावी गर्दै सरकार भ्रष्टाचारीहरुहरुको अखडा बनेकोले यस्तो सरकारले देश बचाउन नसक्ने ठोकुवा गरे । उनले भने, ‘त्यसैले यो आन्दोलन कालाबजारी, तस्करबाट मुलुकलाई बचाउने, असन्तुलित विदेश नीतिबाट मुलुकलाई पर्ने दिर्घकालिन असरबाट बचाउने मुलुक बचाऊ आन्दोलन हो । कम्यूनिष्टहरुले महेन्द्रबादी सोच बोलेका छन । यसले नेपाललाई दिर्घकालमा हित गर्दैन ।’

यादवले कम्यूनिष्टहरुको सरकार माफियातन्त्रलाई बढाउन लागेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उपयुक्त विकल्प दिन नसकेको आरोप लगाए पनि काग्रेससँग राष्ट्रिय हितको विषयमा आफूहरु छलफल गर्न तयार रहेपनि प्रधानमन्त्रीले भने विश्वास गुमाईसकेको दावी गरे ।