मोहन बास्तोला
काठमाडौं, २२ साउन । राजधानीका कुख्यात गुण्डा दिनेश अधिकारी चरीको मोडल खुश्वु ओलीलाई बेहुली बनाउने सपना बुधवार गोधुली साँझसँगै अधुरो बनेको छ ।
त्यति मात्र होइन, अब कहिल्यै पनि खुश्वुको घरबाहिर चरीको गाडी नरोकिने भएको छ । थुप्रैपटक चरीको गाडी खुश्वुको घरबाहिर रोकेको समाचारले चर्चा पाउने गर्थे । अब ती समाचार पनि इतिहासमा मात्र सीमित बनेका छन् ।
मोडल खुश्वु ओलीको चरीसँगको प्रेमसम्बन्धलाई विवाहमा बदल्ने चाहना पनि प्रहरीको गोलीसँगै सँधैँका लागि अन्त्य भएको छ र अन्त्य भएको छ, चरीबाट सिउँदो रंग्याउने खुश्वुको सपना पनि । अहिले खुश्वु प्रेमी मारिएपछि खुलेर प्रहरीको विरोधमा उत्रिएकी छिन् ।
‘मेरो र दिनेशको सम्बन्धमा डाह गर्नेले उसलाई मारे,’ अहिले खुश्वु यस्तै अर्तनाध गर्दै छिन् । तर, उनको त्यो अर्तनाधले चरी फर्किने कुनै सम्भावना छैन । केही वर्ष अघिदेखि ओली र अधिकारी कहिल्यै अलग नहुने प्रेमको बन्धनमा बाँधिएका थिए । दुबैको घरपरिवारले पनि उनीहरु दुबैलाई केही समयपछि विवाह बन्धनमा बाँधिने सहमति दिएको थियो ।
‘दिनेश असल मान्छे थियो,’ खुश्वुका बुबा श्याम ओलीले टेलिफोनमा भाबुक हुँदै भने,’ ‘उसको नाम मात्र ‘डन’ थियो तर ऊ समाजसेवी थियो ।’ पारिवारिक सम्बन्धका बारेमा जिज्ञासा राख्न खोज्दा ओलीले दुखेको मनलाई नुनचुक नलगाउन आग्रह गरे । उनको त्यो अभिव्यक्तिमा पनि चरी उनको परिवारसँग नजानिदो गरी गाँसिएको भाव बुझ्न कुनै मुस्किल हुँदैनथ्यो ।
परिवारको अनुमतिले बेलाबखत ‘रोमान्स’मा बाहिर निस्कँदा पनि चरी र खुश्वुको जोडीको खुव चर्चा हुन्थ्यो । खुश्वु चरीलाई आफ्नो परिवारको सदस्य मान्थिन । अनि चरी पनि खुश्वुलाई त्यही संज्ञा दिने गर्थे ।
जानकारहरुका अनुसार चरी प्रहरीको खोजी सूचीमा परेपछि खुश्वु र चरीको ‘रोमान्स’ लामो समयदेखि लुकिछिपीमा सीमित बनेको थियो । लुकिछिपी मायाले उनीहरुलाई अझ नजिक बनाएको थियो । तर, काल बनेर आएको गोलीले ओलीको जीवन उजाड बनाएर गयो ।
खुश्वु पूर्वमिस टीन सुन्दरी हुन् । यस अघि चरीसँगै देश बाहिर घुम्न गएको कुरा सार्वजनिक भएको थियो । तर, खुश्वुले त्यसको खण्डन गरेकी थिइन् ।















प्रतिक्रिया