काठमाडौं, ९ जेठ । नजिक पुगेको राप्रपा एकता कमल थापाको पद लोलुपताको कारण तुहिने खतरा बढेर गएको छ । महत्वपूर्ण पद जति सबै थापा आफूले मात्र पाउनुपर्छ भन्ने दावी गरेको कारण सौहार्दपूर्ण वातावरणको बाबजुद एकता प्रक्रिया निष्कर्षविहीन भएको छ ।
‘पद जति सबै कमलजीलाई नभई नहुने भएपछि उनकै कारण वार्ता अवरुद्ध हुने अवस्था खडा भएको छ । अध्यक्षको पदमोह जे जस्तो भएपनि राप्रपा नेपालका तमाम कार्यकर्ता भने एकताकै पक्षमा छन्’, राप्रपा नेपालका एक नेताले नाम नबताउने सर्तमा भने । ‘कमलजी घुमाउरो पाराले वार्ता भाँड्ने प्रपंच रच्दैछन् ।’
जबकी राजनीतिमा कमलभन्दा धेरै धेरै वरीष्ठ लोकेन्द्रबहादुर चन्द, पुशपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पद नभएर पार्टी एकता प्रधान कार्यनिति लिएका छन् । सबैलाई स्वीकार्य मोडलमा एकता अघि बढाउनु पर्दछ, प्रतिष्पर्धाका लागि सबैलाई समान अवसर मिल्ने संरचना मिलाएर एकताको महाधिवेशनमा जान नेतात्रय तयार छन् । त्रय नेताका सदाशयताका बाबजुद, कमल थापाकै ढिपीका कारण तर वार्ता अवरुद्ध हुने खतरा पैदा भएको छ ।
अवस्था विश्लेषण गर्दा पद र शक्ति बाँडफाँडकै कारण एकता लम्बिन गएको बुझ्न कठिन छैन । किनभने दुई पृथक सिद्धान्तमा अडिएका राप्रपा र राप्रपा नेपालबीच करिव तीन महिना अघि नै सिद्धान्तका बारे सहमति भइसकेको हो । यसबाट स्पष्ट हुन्छ थापालाई सिद्धान्त प्रति खासै चिन्ता छैन ।
राप्रपाका नेता राणाले सार्वजनिक अन्तरवार्तामै, ‘कमलजी गणतन्त्र अन्तर्गत राष्ट्रपतिको समर्थक भइसकेकोले’ गणतन्त्रमा मेल हुन्छ भन्नुले थापाको प्राथमिकता सिद्धान्त होइन पद नै हो भन्ने कुरा घाम जतिकै छर्लङ छ ।
वरीष्ठ नेता पदमसुन्दर लावती तथा केशरबहादुर विष्टलाई प्रजातान्त्रिक मान्यता विपरीत कारवाही गर्नु र अन्तर्राष्ट्रिय रुपमा भ्रष्टाचारी ठहरिएको भाई गणेश थापालाई सांसद बनाउने निर्णय थापाकै लागि अहिले अभिशाप सावित भएको छ । नैतिकताविहीन राजनीति गर्ने व्यक्तिको विश्वास गर्न राप्रपा वृतमा कोही पनि तयार छैनन् ।
सामुहिक शक्ति विभाजन र जिम्मेवारीको मोडलमा सहमति भएन भने राप्रपा नेपाल बाहेकका पूर्वपंचहरु एकजुट हुने संभावना पनि त्यतिकै बढेर गएको छ । एकता प्रक्रियाबाट एक्लिने र वार्ता टुंगोमा नपुग्दा कार्यकर्ताले छाडेर जाने डरले थापालाई उत्तिकै च्यापेको छ । जसकारण उनी वार्तालाई एउटा वा अर्को बहानामा लम्याउने खेल मात्र खेल्दै छन् ।
वास्तवमा एकीकृत राप्रपाको लोकप्रिय नारा लिएर लावती समूह, केशर बहादुर विष्ट, डा. प्रकाशचन्द्र लोहनी लगायत राप्रपाका वरीष्ठ नेतृत्वतह अभियानमा उत्रिएपछि वार्ता भाँड्ने थापाको प्रयासलाई अंकुश लागेको छ । थापाले अब पनि सहमति जनाएनन् भने राप्रपा एकता अभियान नयाँ विकल्प लिएर जाने, वार्तामा सहभागी नेताहरु बताउछन् ।













प्रतिक्रिया