काठमाडौं, २२ साउन । राजधानीका चर्चित डन दिनेश अधिकारी ‘चरी’ का परिवार र धादिङका एमाले नेताहरु गृहमन्त्री बामदेव गौतमको ध्यानाकर्षण गराउँन मन्त्री निवास पुल्चोक पुगेका पुगेका छन् ।
बुधवार साँझ ५ वजे काठमाडौँको भीमढुंगामा प्रहरीको गोली प्रहारबाट मारिएका डन ‘चरी’ लाई गैरन्यायिक हत्या गरिएको भन्दै एमाले नेता र चरीका परिवार बिहीवार बिहानै मन्त्री निवास पुगेका हुन् ।
सुनियोजित रुपमा नक्कली मुठभेड खडा गरेर हत्या भएको आरोप लगाउँदै आएमको चरीका परिवारसँग गृहमन्त्रीलाई भेट्न एमालेका चार सभासद मन्त्री निवास पुगेका हुन् ।
एमाले नेता तथा धादिङ ३ का सभासद राजेन्द्र पाण्डे, अर्का नेता गंगालाल तुलाधर, सभासद् घनवहादुर घले, क्षेत्र नम्बर २ का सभासद गुरु बुर्लाकोटीसहित केन्द्रीय सदस्य खेम लोहनी, एमालेका कार्यबाहक जिल्ला अध्यक्ष भूमी त्रिपाठीले गृहमन्त्रीलाई भेटी गैरन्यायिक हत्या गरेको भन्दै छानविनको माग गरेका थिए ।
जवाफमा गृहमन्त्रीले घटनाको छानबीन गर्दा गैरन्यायिक हत्या भएको प्रमाणित भए दोषीमाथि कारवाही हुने आश्वासन दिनुभएको थियो ।
बुधवार साँझ काठमाडौंको भीमढुंगामा मारिएका चरीको अहिलेसम्म पोष्टमार्टम भएको छैन । चरीका परिवारले हत्याको छानबीन नभई शव नबुझ्ने अडान लिएपछि थप समस्या भएको छ ।














प्रतिक्रिया