सिरहा, ७ जेठ । व्यक्तिको जग्गा मालपोतले खाइदियो भनेपछि के विश्वास लाग्छ ? सायद जो कोही पनि हावादारी कुरा नै भन्छन् । तर हावादारी कुरा होइन् । यस्तै भएको रहेछ सिरहामा । मालपोत कार्यालयले सिरहा नगरपालिका १३ का दीपु साहको एक कट्ठा जग्गा नै मालपोतले खाइदिएको खुलासा भएको छ ।
दीपु विगत चार वर्षदेखि मालपोत कार्यालय धाइरहेका छन् । तर कर्मचारीहरुले वास्ता गरेका छैन् । जग्गा पुराइदिने भनेर कर्मचारीहरु खुलेयाम घुस माग्छन् दीपुसँग । दीपु भन्छन्– ‘एक वर्ष अगाडि एक लाख ५ हजार माग्थ्यो । तीन दिन अगाडि २५ हजार माग्यो । तर रकम नदिएपछि न्याय पाउन सकिनँ ।’
यसरी खायो जग्गा
दीपुका हजुरबुबाका छोरा तिलक साहले गुलचन साहसँग ऋण उठायो । तर ऋण तिर्न सकेन् । पछि गुलचनले कपाली कागज अदालतमा लगाइदियो । अदालतले दीपुको हजुरबुबा सुबध साहको जग्गा लिलाम गर्ने सूचना प्रकाशित गरायो । उनको नामको जग्गाको नक्कल मालपोतबाट ल्यायो ।
मालेपातले अदालतमा सुबध साह नामको (तत्कालीन गम्हरिया ४ का) किता नं. २६७ को जग्गा ३ कट्ठा ६ धुर हुपर्नेमा २ कट्ठा ६ धुर लेखेर नक्कल पठायो । यहाँ नै मालपोतले गल्ती गरेको रहेछ । जबकी उनको नामको पट्टामा ३ कट्ठा ६ धुर जग्गा थियो । अदालतले पनि लिलाम गर्ने बेलामा २ कट्ठा ६ धुर जग्गाको आधा १ कट्ठा ३ धुर जग्गा लिलाम बोल्यो । बाँकी जग्गा उनको नाममा पास गरिदिन मालपोतलाई पत्राचार । ३ कट्ठा ६ धुर जग्गालाई २ कट्ठा ६ धुर नै मानेर नक्सा समेत आधा–आधा गरिदिए । आधा गर्दा जग्गा १ कट्ठा ३ धुर फिल्ड (स्पोट)मा मात्र हुनुपर्ने हो ।
जग्गा अहिले पनि १ कट्ठा ८ धुर र १ कट्ठा ८ धुर रहेछ । यसले पनि प्रष्ट हुन्छ कि जग्गा ३ कट्ठा ६ धुर जग्गा थियो । तर मालपोतका कर्मचारीले अदालतमा नक्कल पठाउँदा गरेको गल्ती अझै सच्याउन सकेका छैन् । बरु पीडितसँग कर्मचारीहरु खुलेयाम रकम माग्छन् । रकम नदिएपछि दिपु अझै न्याय पाउन सकेका छैन् ।
‘रकम नदिँदा न्याय पाउन सकिनँ’
पीडित दीपु साहले मालपोतका नायब सुब्बा महारुद्र यादबलाई रकम (घुस) नदिएपनि आफूले न्याय नपाएको बताउँछन् । उनी भन्छन्– ‘रु. २५ हजार दिए हराएको जग्गा खोजिदिने भनेका थिए । तर रकम तिर्न नसक्दा न्याय पाउन सकेका छैन् ।’ हराएको एक कट्ठा जग्गा खोज्न चार बर्षदेखि मालपोत धाउँदा धाउँदै हैराउन भएको उनी थप्छन् ।
मालपोत कार्यालयका नासु यादबले घुस माग गरेको अडियो रेकर्ड समेत दिपु सञ्चारकर्मीहरुलाई उपलब्ध गराएका छन् । अडियो रेकर्डमा नासु यादब खुलेयाम रकम मागेको सुनिन्छ । नासु यादबले दिपुलाई भनेछन्– ‘लेखनदास रामचन्द्र यादबलाई रु. २५ हजार देऊ । काम भइहाल्छ ।’ तर नासुले माग गरेको रकम दिपुले नदिएपछि न्याय पाउन सकेन् ।
पीडित दीपुले मालपोतका नासु यादबले रकम माग गरेको कुरा जिल्ला प्रशासन कार्यालय सिरहामै पुगेर प्रमुख जिल्ला अधिकारी विजय मानन्धरलाई समेत सुनाए । उनले रकम माग गरेको अडियो रेकर्ड समेत प्रजिअ मानन्धरलाई सुनाए । उनले प्रजिअसँग न्याय मागे । प्रजिअ मानन्धरले तुरन्तै मालपोत कार्यालयमा फोन गरेर उनलाई न्याय दिन र रकम माग गर्नेमाथि छानविन गर्ने बताए । तर अझै रकम माग गर्ने नासु यादबलाई कसैले केहि गर्न सकेका छैन् । पीडित दिपु भन्छन्– म त न्याय पाउछु जस्तो लाग्दैन् । तर खुलेयाम घुस मागेर कानूनको धज्जी उडाउने नासु यादबलाई कारबाही हुनुपर्छ । के होला कारबाही ?













प्रतिक्रिया