लन्डन, ६ जेठ । ४८ वटा अल्पविकसित मुलुकहरुमा कृयाशील नागरिक समाजहरुको सन्जालले धनी तथा विकसित मुलुकहरुलाई संसारका सबैभन्दा गरीब मुलकहरुमा बसोबास गर्ने करोडौ जनतालाई गरीबीको रेखाबाट माथि उकास्न सघाउने उनीहरुको वाचाबाट पछि नहट्न आह्वान गरेको छ ।
काठमाडौंमा मुख्यालय रहेको एलडिसी वाचले संयुक्त राष्ट्रसंघद्वारा पाँचवर्ष अघि टर्कीको इस्तान्बुलमा आयोजित शिखर सम्मेलनमा अल्पविकसित मुलुकहरुलाई सघाउन वाचा गरेका धनी मुलुकहरुलाई उनीहरुको वाचा नबिर्सन आग्रह गरेको हो ।
१४-१६ ज्येष्ठ (मे २७-२९ तारिख) मा टर्कीकै अन्तल्या शहरमा हुनगैरहेको मध्यावधि मूल्यांकन शिखर बैठक अघि प्रकाशित एक प्रेस वक्तव्यमा एलडिसी वाचले प्राकृतिक प्रकोप, आर्थिक संकट एवम् इबोला जस्ता महामारीबाट अल्पविकसित मुलुकहरुका करोडौं जनता प्रभावित भै रहेको र उनीहरुलाई तत्काल भरपर्दो सहयोग पुराउने दायित्वबाट अन्तर्राष्ट्रिय समुदाय पन्छन नमिल्ने जनायो ।
भ्रष्टाचार, राजस्व हिनामिना तथा कर छल्ने प्रवृत्तिले पनि विकासमा खर्च गर्न अत्यावश्यक स्रोतको अभाव हुन पुगेको पनि सो संस्थाले जनायो ।
“अन्तर्राष्ट्रिय समुदायलाई तिनका वाचा पुरा गर्न आह्वान गर्नुका साथै अल्पविकसित मुलुकहरुका गैरसरकारी संस्थाहरुले तिनका आफ्नै सरकारहरुलाई पनि भ्रष्टाचारसंग जुध्न एवम् पारदर्शी शासन व्यवस्था सन्चालन गर्नका लागि गैरसरकारी संस्थाहरुसंग हातेमालो गर्न आग्रह गरेका छन्,” एलडिसी वाचका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले भन्नुभयो। “जलवायु परिवर्तन, सुख्खा, बाढी, समुद्रको बढ्दो जल सतह तथा मरुभूमिकरण जस्ता समस्याहरु व्यहोरिरहेका अल्पविकसित मुलुकहरुका जनतालाई केन्द्रविन्दुमा नराखेसम्म संयक्त राष्ट्रसंघले अघिसारेको दीगो विकास लक्ष्यहरु पनि पुरा हुनसक्दैनन्,” उहाँले थप्नुभयो।
एलडिसी वाचले
अन्तल्यामा यही मे २७-२९ तारिखमा हुन गैरहेको राष्ट्रसंघीय बैठक अघि सोही शहरमा मे २६-२८ तारिखमा नागरिक समाज मन्च (Civil Society Forum) को अन्तर्राष्ट्रिय बैठक हुन लागेको एलडिसी वाचले जनाएको छ ।
दर्जनौं गैरसरकारी संस्थाहरुका सयौं प्रतिनिधिहरुले भाग लिने अपेक्षा गरिएको उक्त बैठकमा नेपाल, बाँगलादेश, बेनिन, क्याम्बोडिया, किरिबाटी, सेनेगल तथा टोगो लगायत दक्षिणी तथा पूर्वी अफ्रिका एवम् दक्षिण एसियाली नागरिक सन्जालका प्रतिनिधिहरुले पनि आआफ्नो मुलुक तथा क्षेत्रका समस्याहरुबारे प्रकाश पार्नेछन्।
मध्यावधि बैठकमा सन् २०११ मा इस्तान्बुलमा पारित अन्तर्राष्ट्रिय कार्य योजनामा के कति प्रगति भयो? भन्ने विषयको समीक्षा गरिनुका साथै अल्पविकसित मुलुकहरुलाई सघाउन अन्तर्राष्ट्रिय समुदायले तिनको प्रतिबद्धता फेरि दोहोराउने अपेक्षा गरिएको छ।
एलडिसी वाचले अल्पविकसित मुलुकहरुलाई विकासशील मुलुकको स्तरमा पुराउन इस्तान्बुल कार्ययोजनाको कार्यान्वयनमा जोड दिंदै आएको छ।















प्रतिक्रिया