काठमाडौं, ६ जेठ । अमेरिकाले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाएपछि डकुमेन्ट बनाउने नाममा विकृति फैलाउनेहरुको निदहराम भएको छ ।
कतिपय कन्सलटेन्सी तथा दलालहरुले बैंक ग्यारेन्टी, लालपुर्जा, निमन्त्रणा पत्रलगायतका डकुमेन्ट बनाउने नाममा जथाभावी रकम लिंदै आएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
उनीहरुले ‘गुड फर पेमेन्ट’ को चेक बनाउनका लागि एक लाखको दैनिक एक हजार असुल्दै आएका थिए । राजधानीमा आकर्षक कार्यालय खोली त्यस्ता कन्सलटेन्सी र दलालहरुले शत प्रतिशत भिसा ग्यारेन्टी भन्दै नक्कली कागजात बनाई जथाभावी रकम असुली गर्न थालेको भेटिएपछि अमेरिकी दूतावासले त्यस्ता विकृतिलाई रोक्न कागजी प्रक्रिया घटाएको हो ।
कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचा सहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्त गरेको जनाएको छ ।
आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु पर्दैन ।
जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूतावासले जनाएको छ ।
त्यस्तै अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने जनाएको छ ।
अमेरिकी दूतावासमा आवेदकहरूले कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेका थिए ।
पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले राहदानी, पुराना राहदानी, डिएस–१६० कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद, फोटो, आई–२०(विद्यार्थी भिसा आवेदकका लागि) र ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि) पेश गर्नुपर्ने जनाएको छ ।
अमेरिकी दूतावासले चालेको कदमले राम्रो काम गर्ने कन्सलटेन्सीहरुलाई भने सहज हुने मोडल ग्लोबल भिसाज कन्सलटेन्सीका सञ्चालक मनोज पाण्डे बताउँछन् ।
‘यहाँ डकुमेन्ट बनाउने नाममा ‘गुड फर पेमेन्ट’ देखि नक्कली कागजात बनाएर विद्यार्थीसँग चर्को रकम असुल्नेको ओठ तालु सुकेको छ ।’
पाण्डेले भने–‘यसले गर्दा एकातिर विद्यार्थीहरु अमेरिकामा पढ्न जान थप उत्साहित भएका छन् भने अर्कोतिर विकृतिको पनि अन्त्य भएको छ ।’ मोडल ग्लोबलले विशेष गरी अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्डलगायतका देशहरुमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि पठाउँदै आएको छ ।















प्रतिक्रिया