काठमाडौं, २१ साउन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले हालै सम्पन्न महाधिवेशनमा आफ्नो प्यानलमा मत हाल्ने ७३ जना प्रतिनिधिले आफुलाई मात्र खाली राखेकोमा धन्यवाद् दिनुभएको छ ।
नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकारहरुसँग बुधवार कुराकानी गर्दै उहाँले धन्यवाद् दिनुभएको हो । ‘पूरै प्यानललाई भोट दिएर आफूलाई मात्र नदिने ७३ जना को थिए भन्ने मैले अहिलेसम्म बुझ्न सकेको छैन,’ उहाँले भन्नुभयो,’ ‘उहाँहरुले मलाई के कारणले भोट हाल्नु भएन थाहा नभए पनि उहाँहरुलाई धन्यवाद् ।’
उहाँले पत्रकारसँग कुराकानी गर्दै आफुलाई चलाखीपूर्वक हराइएको समेत दाबी गर्नुभयो । मतपत्रमा ध्यान नदिँदा आफू र आफ्नो प्यानलका ३० जनाभन्दा बढी केन्द्रीय सदस्यका उम्मेदवार जित्दाजित्दै हारेको पनि उहाँको दाबी थियो ।
नेता नेपालले मतपत्र छाप्दादेखि मतगणनासम्मका गतिबिधिहरु चलाखीपूर्वक भए पनि त्यसलाई आफूले तत्कालै स्वीकार गरेर अध्यक्ष केपी ओलीलाई पूर्ण समर्थन जनाइसकेको स्पष्ट पार्नुभयो ।
‘धेरैलाई महाधिवेशनपछि पार्टी इस्थायी विभाजनमा पुग्छ भन्ने लागेको थियो,’ उहाँले भन्नुभयो, ‘तर मैले उहाँ (केपी शर्मा ओली) अध्यक्ष बन्ने वित्तिक्कै फोनवाट बधाई दिएँ,’ विज्ञप्ति निकालेर पनि वधाई दिए ।’
नेपालले अब पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने जिम्मा अध्यक्षको भन्दै हार्ने पक्षबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘अहिलेको आवश्यकता भनेको पार्टीलाई एकतावद्ध बनाउने हो,’ अध्यक्षले सबैलाई समेटेर अघि बढे पार्टी एकता हुन्छ’ नेपालले भन्नुभयो, ’ ‘त्यसका लागि नेतृत्वले तत्परता देखाउनु पर्छ ।
कार्यक्रममा नेपालले कतिपय केन्द्रीय सदस्यका उम्मेदवारहरुले पुनःमतगणनाको माग गरेको भन्दै उनीहरुको माग जायज रहेकाले पुनः गणना गर्नुपर्ने पनि बताउँनु भयो ।
‘केही साथीले चुनाव जितेको भनेर बधाइ समेत लिइसकेका थिए, तर पछि हारेको भनियो’ नेपालले भन्नुभयो,’ ‘उनीहरुको चित्त बुझ्ने गरी पुनः मतगणना गर्नुपर्छ, म यसमा नेतृत्व र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु’ ।
त्यसैगरी उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र नेपाली जनताको संवेदनशीलता र भावनालाई राम्ररी बुझेको भन्दै भारतसँग त्यही अनुसारको ‘डील’ गर्नुपर्ने बताउनु भयो ।
















प्रतिक्रिया