काठमाडौं, ४ जेठ । बहृत राप्रपा एकीकरणको चरण आफू अनुकूल नचलेको बहानामा कमल थापाले एकीकरण प्रयासमा भाँजो हाल्ने चेष्टा गरेका छन् ।
एकीकृत राप्रपा चाहिन्छ भनेर कार्यक्रम आयोजना गर्ने राप्रपा नेपाल ललितपुर जिल्ला कार्य समिति भंग गर्ने कदम पछि थापा एकताको विपक्षमा छन् भन्ने बुझाई राप्रपा वृतमा अहिले ढडेलो सल्के जस्तै फैलिएको छ ।
थापाको यस्तो कदमले राप्रपाका वरिष्ठ नेतृत्वका हकमा पनि असहजताको अवस्था सिर्जना भएको छ । राप्रपाका वरिष्ठ नेताहरू डा. प्रकाशचन्द्र लोहनी, बालाराम घर्ती मगर, नवराज सुवेदी, हरिबहादुर बस्नेत लगायत राप्रपाका दर्जनौं केन्द्रीय सदस्य, नेताहरू एकीकृत राप्रपा निर्माण अभियानको कार्यक्रममा सहभागी भएका थिए ।
राप्रपा नेपालको यस्तो अप्रत्यासित निर्णयले अयोजक मात्र भनेर कार्यक्रममा सहभागी सबै गलत थिए भन्ने सन्देश प्रवाह गरेको छ ।
‘एकीकृत राप्रपा अभियान अन्तर्गत भेला आयोजना गर्ने समितिलाई कारवाही गरेर कमल थापाले बहृत एकताका लागि सकारात्मक रहेका डा. लोहनी लगायत कार्यक्रममा उपस्थित सयौं राष्ट्रवादीलाई ठाडो चुनौति दिएका छन् । देश, विदेशमा रहेका एकताका पक्षपातीहरु यसकारण निराश भएका छन्,’ एकीकृत राप्रपाका एक अभियन्ताले बताए ।
जेठ २ गतेको कार्यक्रम रोक्दा रोक्दै ललितपुर जिल्लाले निर्देशन अटेर गरेको भनेर कार्यक्रमको भोलि पल्ट राप्रपा नेपालको कार्य सम्पादनको बैठक बोलाएर थापाले ललितपुर जिल्ला समिति भंग गरेका थिए ।
यही निर्णयका कारण अहिले अफठ्यारो परिस्थिति सिर्जना भएको छ । जिल्ला समिति भंग गर्ने निर्णय थापाकै लागि प्रत्यूत्पादक साबित भएको छ । एकातिर कार्यकर्ता र जनमानसमा थापा एकता विरोधी भएको छाप परेको छ भने अर्कोतिर राप्रपा सँगको एकता प्रयासमा उनको ‘बार्गेनिङ पावर’ घटेको छ ।
‘यस्तो अपरिपक्व कदमबाट सबैखाले राप्रपाबीच एकता हुनुपर्छ भन्ने उद्देश्य लिएको कार्यक्रममा उपस्थित भएका, एकता प्रयासप्रति सकारात्मक रहेका सबै नेता, कार्यकर्ता गलत छन् भन्ने सन्देश थापाले प्रवाह गरेको चर्चा अहिले राप्रपा वृतमा व्याप्त छ’, राप्रपा नेपाल निकट स्रोत बताउछ ।
आफ्नो अनुकूल भए, आफूले सबै पद पाए, आफ्नो मातहतमा सबै बसे मात्र एकता गर्ने नभए पार्टी एकता नगर्ने भन्ने राप्रपा नेपालका अध्यक्ष थापाको अडान एकीकरण अभियानको भेलामा राप्रपा नेपालका निवर्तमान सहअध्यक्ष केशरबहादुर विष्टले आलोचना गरेका थिए । ‘त्यो फुच्चेलाई (कमल थापालाई) सबैले मानिदिनु पर्ने रे, जो संभव नै छैन,’ विष्ट सम्बोधनको क्रममा बताएका थिए ।
विष्टको भनाईमा, ‘मेरो मातहतमा आए हुन्छ नभए हुन्न’ भन्ने थापाको साँघुरो मनोवृतिकै कारण हिन्दु राष्ट्रको अभियानमा खुमबहादुर खड्का, कमलनयन आचार्य र श्रीनिवास गुरुहरुसँग संयुक्त आन्दोलन, अभियान संभव नभएको बताए । थापाले सिद्धान्त त्यागेकै कारण कालीबाबा समेत रिसाएको विष्टले भेलामा अनुभव सुनाएका थिए ।
जेठ २ गतेका एकीकृत राप्रपा निर्माण अभियानको कार्यक्रम सहभागी नहुनु भनेर थापाले ७५ जिल्लामै आन्तरिक सर्कुलर गरेका थिए जसबाट थापा एकताको पक्षमा नभएको राप्रपा नेपलाका कार्यकताहरुले विश्लेषण गरेको पार्टी स्रोतको भनाइ छ ।












प्रतिक्रिया