– मोहन पौडेल
नवलपरासी, ३ जेठ । आम सर्वसाधारणको नजरमा सरकारी कार्यालयलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन पशुपन्छी विकास मन्त्री शान्ता मानवीले आग्रह गर्नुभएको छ ।
सरकारी कार्यालयप्रति नागरिकको अझै पनि सकरात्मक दृष्टिकोण नभएको भन्दै मन्त्री मानवीले आज नवलपरासीको परासीथित जिल्ला पशु सेवा कार्यालयको निरीक्षणपछि कर्मचारीलाई सो निर्देशन दिनुभएको हो । नागरिकमा सकारात्मक दृष्टिकोण ल्याउन कार्यालयले पारदर्शी रुपमा काम गर्ने, छिटो छरितो र नागरिक वडापत्र अनुसारको सेवा दिन मन्त्री मानवीले सुझाव पनि दिनुभयो ।
पशुपन्छी विकास मन्त्री मानवीले लक्षित वर्गका पनि विपन्न र अत्यन्त पछाडि परेका समुदायको उत्थानका लागि लक्षित कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देशन दिनुभयो । नवलपरासीको दक्षिणी क्षेत्र र अन्य क्षेत्रमा रहेका विपन्न समुदायको जिविकोपार्जनको कार्यक्रम सञ्चालन गर्न र त्यसपछि आत्मनिर्भर हुने व्यवसायिक सीपहरु प्रदान गर्न उहाँले सुझाव दिनुभयो ।
पशुको क्षेत्रमा नवलपरासी अग्रणी जिल्ला रहेको भन्दै मन्त्री मानवीले पछाडिपरेका समुदायलाई प्राथमिकता दिएर पशुपालनका कार्यक्रम सञ्चालन गर्न जोड दिनुभयो ।
एक वर्षमा अण्डा दुई वर्षमा मासु र तीन वर्षमा दुधबाट मुलुकलाई आत्मनिर्भर बनाउने मन्त्रालयको कार्यायोजना अनुसार नवलपरासी जिल्लालाई पनि एउटा पकेट क्षेत्रको रुपमा लिईएको उहाँले जानकारी दिनुभयो । मन्त्री मानवीले नवलपरासीको पशु सेवा कार्यालयले अन्त्यन्त रचनात्मक र फरक कार्यक्रमहरु सन्चालन गरेर किसानको जिवनस्तर उकास्ने काम गरेको भन्दै प्रशंसा पनि गर्नुभयो ।
मन्त्री शान्ता मानवीलाई जिल्ला पशु सेवा कार्यालयका प्रमुख शंकर शाहले जिल्लाको पशु क्षेत्रको अवस्था र सम्भावनाको बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थको पनि सहभागिता रहेको थियो । पशुपन्छी विकास मन्त्री मानवीले आजै जिल्ला पशु सेवा कार्यालयमा निर्माण हुन लागेको तालिम हलको शिलान्यास पनि गर्नुभयो भने बर्दघाटमा रहेका मिलिजुली गाई फार्र्म र नमुना गाई फार्मको पनि अवलोकन गर्नुभएको छ ।
















प्रतिक्रिया