२५ कार्तिक २०८३, बुधबार

काठमाडौं फर्किएलगत्तै सरकारलाई राजदूत उपाध्यायको चुनौति- आरोप प्रमाणित गर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dip-kumar-updhaya

काठमाडौँ, २ जेठ । भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको प्रतिक्रिया दिएका छन् ।

सरकारको निर्णयअनुसार आइतबार स्वदेश फर्किएका राजदूत उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको निर्णयलाई आफूले सहज रुपमा लिएको बताए ।

राजदूत पदमा १३ महिना पाँच दिन बिताएका राजदूत उपाध्यायले पदमा रहँदा भारतीय सीमानामा उत्पन्न आपूर्तिको असहज अवस्थालाई सामान्य बनाउन सक्दो प्रयास गरेको बताए ।

फिर्ता बोलाएको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले भने , ‘मलाई फिर्ता बोलाउने सम्बन्धमा परराष्ट्र मन्त्रालयले कुनै कारण खुलाएको छैन ।’

पदमा रहँदा आफूबाट कुनै गल्ती नभएको स्पष्ट पार्दै उनले त्यस सम्बन्धमा सार्वजनिक भएका हल्ला भ्रम मात्र हुन् भने । उनले सरकारप्रति आफ्नो पूर्ण सम्मान रहेको र कुनै मर्यादा उल्लङ्घन नगरेको बताए।

अबको जीवन कसरी अघि बढ्छ भन्ने एक जिज्ञासामा उनले भने, ‘साथीभाइसँग सल्लाह गरेर अघि बढ्छु ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी पूरा भएको र अन्तिम समयमा आएर स्थगन हुनु दुःखद भएको बताउँदै उनले एक–दुई घटनाले नेपाल–भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने जिकिर गरे ।

काठमाडौं फर्किएलगत्तै ओली सरकारलाई उपाध्यायको अर्काे चुनौति

सरकारलाई जानकारी नगराई आउजाउ गरेको, अनुमति नलिई भारतीय राजदूतसँग विभिन्न कार्यक्रममा गएको र ओली सरकार ढाल्ने प्रयास गरेको तीन वटा आरोप लगाएर फिर्ता बोलाइएका राजदूत उपाध्यायले विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा आरोप प्रमाणित गरेर देखाउन ओली सरकारलाई चुनौति दिए ।

यसबारे सोधिएको एयरपोर्टमा पत्रकारले सोधेका प्रश्नमा कांग्रेस नेता समेत रहेका उपाध्यायले आरोप प्रमाणित गर्न ओली सरकारलाई फेरि चुनौती दिए । आफूले प्रधानमन्त्रीलाई भेट्न बाँकी नै रहेकाले धेरै राजनीतिक टिप्पणी नगर्ने उनले बताए ।

निवर्तमान राजदूत उपाध्यायले भने- ‘मलाई लगाइएको आरोप प्रमाणित भए सार्वजनिक जीवनबाटै सन्यास दिन्छु ।’ उनले नेपाल र भारतको सम्वन्ध जुवाको खाल जस्तो एउटाले जित्ने र अर्कोले हार्ने नभएको टिप्पणी समेत गरे ।

यसअघि आज विहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्वीट गर्दै वेलकम दीपकुमार भनेका थिए ।