८ कार्तिक २०८३, आइतबार

सुन्दरीका लागि नेपाली सेनाका हाकिमले किन गरे यति ठूलो हर्कत ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sonakshi-Sinhaकाठमाडौं, २ जेठ । त्रिभुवन विमानस्थलमा शुक्रबार बलिउड हीरोइन सोनाक्षी सिन्हा आइपुग्दा स्वागत गर्न नेपाली सेनाका जर्नेल नै पुगे । अर्की अभिनेत्री मलाइका अरोरालाई पनि सेनाले विमानस्थलमा विशेष स्वागत गर्‍यो ।

सैनिक श्रीमती संघ नेपालको आयोजनामा यी दुई बलिउड सुन्दरीको शनिबार टुँडिखेलमा भएको कन्सर्टमा समेत सेनाले आवश्यकभन्दा बढी कर्मचारी खटाएको थियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सोनाक्षीलाई त्रिभुवन विमानस्थलको आगमन कक्षमा स्वागत गर्न सहायक रथी समीर शाही पुगेका थिए । उनी गौचरनस्थित इन्जिनियरिङ निर्देशनालयका निर्देशक हुन् । उनीसँगै त्यहाँ सेनाका अन्य अधिकृतहरू पनि देखापरे ।

सुरक्षा मामिलाका जानकारले यो कार्यलाई सेनाको ‘प्रतिष्ठा घटाउने’ र ‘मनोबल गिराउने’ भनी टिप्पणी गरेका छन् । एक पूर्वउपरथीका अनुसार कन्सर्टमा भाग लिन आएकी भारतीय अभिनेत्रीलाई विशिष्ट सैनिक अधिकारीले स्वागत गर्नु र उनीहरूको कन्सर्टमा व्यापक मात्रामा सैनिक परिचालन गरी अधिकृतहरूसमेत संलग्न हुनु सैनिक ऐनको उल्लंघन हो । ‘ऐनलाई नै नमानेर सेनाको तर्फबाट यस्तो कार्य हुनु सम्मानित संस्थाको बदनामीसमेत हो,’ ती पूर्वउपरथीले भने, ‘यस्तो क्रियाकलाप गर्दा सेनाको संवेदनशीलता र गरिमालाई ख्याल गर्नुपर्छ । आन्तरिक र बाह्य सुरक्षामा महत्त्वपूर्ण ध्यान दिनुपर्ने सेना यस्ता काममा अलमलिनु उचित होइन ।’

संघले २०७१ सालमा पनि भारतीय गायक मोहित चौहानलाई ल्याएर कन्सर्ट गर्दा ठूलो मात्रामा सैनिकको प्रयोग भएको थियो । त्रिभुवन विमानस्थलको बाहिरी सुरक्षाको काम सेनाको हो, तर भित्री सुरक्षा र आगन्तुकलाई नेपाल प्रहरीले सुरक्षा दिन्छ । एक नायिका आउँदा सेनाका अधिकारीहरू नै स्वागत गर्न पुगेकोमा विमानस्थलमा खटिएका प्रहरी अधिकारीले समेत आश्चर्य व्यक्त गरे ।

कन्सर्ट भूकम्पपीडितको सहयोगार्थ भनिएको छ । सैनिक श्रीमती संघकै कार्यक्रम रहेको र राम्रो कामका लागि भएकाले सुरक्षामा बढी ध्यान दिइएको सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताए । जर्नेल नै नायिकाको स्वागतमा पुगेकोबारे उनको तर्क थियो, ‘उहाँको कार्यक्षेत्र त्यहीं भएका कारण संयोगले पुग्नु मात्र भएको हो, योजना बनाएर रिसिभ गर्न जानुभएको होइन ।’

उनले कन्सर्टमा भने बाहिरी सुरक्षा प्रहरीको र भित्री सुरक्षा सेनाको रहेको जनाए ।