काठमाडौं, १ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुङ्गिएको छ ।
संसद नियमावलीका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा प्रधानमन्त्रीको प्रस्ताव प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अस्वीकार गरेपछि बैठकमा कुनै सहमति हुन नसकेको हो ।
बालुवाटार स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले संसदीय सुनुवाइ समिति संविधान अनुसार १५ सदस्यीय बनाउन प्रस्ताव गर्नुभएको थियो । तर, प्रधानमन्त्रीको उक्त प्रस्ताव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्वीकार गर्नुभयो । उहाँसहित साना दलका नेताहरुले समिति ७३ सदस्यीय हुनुपर्ने अडान राखेका थिए ।
संविधानको धारा २९२ मा संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने व्यवस्था गरिएको छ ।
बैठकमा संविधान विपरित कांग्रेस र केही साना दलले सुनुवाई समिति ७३ सदस्यीय हुनुपर्ने अडान राखे । यता सत्तारुढ एमाले र एमाओवादीले संविधानमा व्यवस्था भएअनुसार सुनुवाई समिति १५ सदस्यीय हुनुपर्ने अडान राखेपछि आज कुनै सहमति हुन नसकेको बैठकमा सहभागी एमालेका एक नेताले जानकारी दिए ।
दलहरुबीच नियमावली मस्यौदा समितिमा सहमति जुट्न नसक्दा न्यायपरिषदले सिफारिस गरेका ११ न्यायाधीश र सरकारले सिफारिस गरेका २१ राजदूतको संसदीय सुनुवाई हुन सकेको छैन् । कति संख्याको समिति बनाउने भन्ने दलहरुबीचको विवादले अन्य कामहरु समेत प्रभावित भएका छन् ।
बैठकमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादार लगायतका नेताहरुको उपस्थिति थियो ।












प्रतिक्रिया