काठमाडौं, ३० वैशाख । दुई टुक्रामा विभक्त कांग्रेस समर्थित पर्यटन व्यवसायीहरुबीच एकताको प्रयास विफल भएको छ ।
राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट–नेपाल)ले अलोकतान्त्रिक व्यवहार प्रर्दशन गरेको भन्दै लोकतान्त्रिक व्यवसायी संघ वार्ताबाट बाहिरिने घोषणासँगै निट–नेपाल र लोकतान्त्रिक विच एकताको प्रयास विफल भएको हो । बैशाख २६ गते दुबै संस्थाले वार्ता टोली गठन गरि एकताको वार्ता थालनी गरेका थिए ।
एकताको लागि विभिन्न तबरबाट भएका दुई पक्षिय वार्तामा निट–नेपालले समझदारीका आधारमा अगाडि बढ्ने भन्दा पनि गैरप्रजातान्त्रिक तबरबाट झुकाउन खोजेको भन्दै लोकतान्त्रिक वार्ताबाट बाहिरएको वार्ता टोलीका संयोजक समेत रहेका लोकतान्त्रिक पर्यटन व्यवसायी संघका अध्यक्ष रामशरण थपलियाले बताउनुभयो ।
निट नेपालले उपाध्यक्ष केशव पाण्डेको संयोजकत्वमा वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साल र केदार दवाडी सदस्य रहेको तीन सदस्यिय वार्ता कमिटि गठन गरेको थियो । त्यस्तै लोकतान्त्रिकले पनि अध्यक्ष थपलियाको संयोजकत्वमा कुमार अधिकारी, नविन त्रिताल, सोनाम ग्याल्जेन शेर्पा र चोलेन्द्र कार्की सदस्य रहेको वार्ता कमिटि गठन गरेको थियो ।
सम्मानजनक सहभागिताको पक्षमा आफुहरु रहेपनि लोकतान्त्रिकलाई नजर अन्दाज गरेकाले अब एकताको लागि वार्ताको औचित्य सकिएको थपलियाले बताउनुभयो । ‘आफु प्रजातान्त्रिक विचारधाराका व्यवसायी विचको वृहत एकताको पक्षमा रहेको भन्दै थपलियाले लचकता देखाएर वार्तामा बस्दा पनि आफुहरुको लचकतालाई कमजोर ठान्ने निट नेपालको सोचमा एकता प्रक्रिया अघि बढ्न नसक्ने बताउनुभयो ।
यथास्थितीमा वार्तामा नबस्ने समेत उहाँले बताउनुभयो । मिल्ने नाउमा संस्था र व्यक्तिलाई बाइपास गरेर अलोकतान्त्रिक गठबन्धन गर्न नसकिने भन्दै अव लोकतान्त्रिक व्यवसायी संघलाई बृहत बनाउदै देशभर शाखा विस्तारको अभियानमा आजैबाट आफु र आफ्नो टिम आक्रामक ढंगबाट लाग्ने उहाँले बताउनुभयो । थपलियाले वार्ताका लागि पहल कदमी लिएकोमा निट नेपालका वार्ता कमिटी सदस्यलाई धन्यवाद समेत दिनुभयो ।















प्रतिक्रिया