२५ कार्तिक २०८३, बुधबार

एमाओवादीलाई अर्काे झट्का, एकताको सम्भावना अन्त्य भएको गजुरेलको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ३० वैशाख । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत नेकपा माओवादीसँगको पार्टी एकताको सम्भावना तत्कालको लागि अन्त्य भएको स्पष्ट पारेका छन् ।

बुधबार प्रचण्ड निवासमा बसेको ६ माओवादीको संयुक्त बैठकले एकता गर्ने निर्णय गरेलगत्तै वैद्य माओवादीका उपाध्यक्ष गजुरेलले अहिलेको अवस्थामा एमाओवादीसँग एकता हुनै नसक्ने घोषणा गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले एमाओवादीले संसद र सरकार दुबै नछाडेसम्म कुनै पनि हालतमा पार्टी एकता हुन नसक्ने ठोकुवा गर्दै विगतमा सहमति नजिक पुगेपनि एमाओवादीकै नीतिको कारण पार्टी एकता हुन नसकेको आरोप लगाए ।

गजुरेलले भने, ‘हामी सच्चा क्रान्तिकारी कम्युनिष्टहरुबीचको एकता चाहन्छौ । हामीले पार्टी पुनःगठन गरेको बेलाको भन्दापनि एमाओवादीको लाईन अति दक्षिणपन्थी भएकोले एकता हुन नसकेको हो । उहाँहरुसँग एकताको लागि अनौपचारिक कुराकानी भएको हो तर उहाँहरुले संविधान निर्माणको सन्दर्भमा १६ बुँदे सहमति गरेपछि कुराकानी समाप्त भएको हो ।’

उनले एमाओवादीले क्रान्तिलाई धोका दिएकोले क्रान्तिलाई जोगाई राख्न आफूहरुले पार्टी पुनःगठन गरेको उल्लेख गर्दै अलग हुँदा एमाओवादी नेतृत्वलाई लालगद्दार भन्नेहरु नै अहिले मिल्न गएको बताए ।

गजुरेलले महासचिव रामबहादुर थापा बादलले एमाओवादीसँग एकता नभई आन्तसमर्पण गरेको आरोप लगाउँदै यो बामपन्थी पार्टीभित्र रहेका दक्षिण पन्थीहरुवीचको एकता भएको दावी गरे ।

उनले भने, ‘दक्षिणपन्थीहरुको एकताले बामपन्थीहरुको एकताको धु्रविकरण गरेको छ । बादलजीले विचार र राजनीतिलाई तिलान्जली दिई सरकारमा जान हतार भएर गर्नु भएको कथित एकता हो । उहाँले एमाओवादीसँग गरेको १२ बुँदे सहमति पार्टीले पहिला नै अस्विकार गरिसकेको आधार हो ।’

गजुरेलले पार्टी एकता मुख्य नेताले सिद्धान्त र कार्यदिशा मिल्दा गर्नुपर्नेमा पार्टीभित्रका केही दक्षिणपन्थी नेताहरुले गर्न लागेकोले यो पार्टी एकता हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्ष नै नगईकन एकता हुनै नसक्ने तर्क गरे ।

उनले प्रचण्डले तत्काल पार्टी एकताको सम्भावना नदेखेपछि पार्टी भित्रबाट चोईट्याएर लिएर जान थालेको आरोप लगाउँदै यसले पार्टी एकताको बातावरणलाई झनै विगारेको दावी गरे ।

बादलमाथिको कारवाहीको जिज्ञासमा गजुरेलले उनले अहिलेसम्म पार्टीको कुनै पनि अनुशासन नमानेको र आफैले लालगद्दार भनेकासँग मिल्न जानेलाई के कारवाही गर्ने भनि प्रश्न गर्दै पार्टीको केन्द्रीय समितिको बैठक अगाडि नै एमाओवादीमा जाने तयारी गरिरहेको बताए ।

उनले भने, ‘आज भोली नै उहाँहरुको बैठक छ । दुई गतेको केन्द्रीय समितिको बैठकको उहाँहरुले प्रतिक्षा गर्नुहुन्न होला त्यसअघि नै जाने तयारीमा हुनुहुन्छ । उहाँहरुलाई कारवाही गरे कारवाहीकै बेईज्जत हुन्छ ।’

गजुरेलले अब आफूहरु नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्ने घोषणा गर्दै राज्यले आफूहरुको कुरा जनताका वीचमा राख्न कुनै अवरोध नगरेसम्म हतियार नउठाउने स्पष्ट पारे ।

उनले भने, ‘अहिले हतियार उठाउने बेला भएको छैन । जनतामा जाने बाटो नरोकिएसम्म हतियार उठाउँदैन । राज्यले दमन गरेर जनतामा जान रोको स्वतह हतियार उठ्छ ।’

गजुरेलले राज्यले जनयूद्धकालिन मुद्दा ब्यूताएर शान्ति प्रक्रिया उल्टाउन खोजेको आरोप लगाउँदै मेलमिलाप नगरी मुद्दा उल्टाउँदै जाने हो भने मुलुक फेरि द्धन्दमा जाने चेतावनी दिए ।

उनले मुद्दा मिल्नेहरुसँग जहिले पनि कार्यगत एकता गरेर अघि बढ्ने पार्टीको नीति रहेको बताउँदै मुद्दा मिले माओवादीमात्रै नभई कांग्रेस र एमालेसँग पनि कार्यगत एकता हुन सक्ने स्पष्ट पारे ।