काठमाडौं, ३० वैशाख । २० दिनअघि काठमाडौंको तार्केश्वरस्थित पृथ्वीटोलको कमेरे खोलामा फेला परेको शवको पहिचान भएको छ ।
उक्त शव गोरखा घर भएका ४८ वर्षीय श्याम बहादुर मगरको भएको प्रारम्भिक रुपमा खुल्न आएको छ ।
यो घटनामा संलग्न एक अभियुक्तलाई महानगरीय प्रहरी अपराध महाशाखाले २० दिनपछि पक्रेर विहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रसुवा घर भएका कृष्ण बहादुर विक रहेका छन् ।
मृतक मगरको शव यही वैशाख १० गते कमेरे खोला किनारमा आँखामाथि र घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
यसरी भयो हत्याः
अनुसन्धानबाट खुल्न आएका कुराहरु
- वैशाख महिनाको २ गते कृष्ण बहादुर वि.क. आफ्नो कोठाबाट माछापोखरी चोकमा आउँदा मृतकसँग भेट भएको ।
- काम खोज्न आएका मृतकले कृष्ण बहादुर विकले लगाएको चप्पलमा सिमेन्टको हिलो देखे पछी आफु कामको खोजीमा आएकोले काम दिन सक्नु हुन्छ भनि सोधेको ।
- कृष्ण बहादुर विकले काम के गर्न जानेको छ भनि सोध्दा निज मृतकले घरको गारो र वालको काम आउँछ भने पछि कृष्ण बहादुर विकले मृतकलाई आफ्नै कोठामा लगी गएको ।
- भोली पल्ट बिहान ०६:०० बजे देखी काममा लगेको तर ठेकेदार नभएका कारण कृष्णले नै काम गर्दै गर्नु दिनको रु.१२००/- ज्याला आउँछ भनि काममा लगाएको ।
- मृतकले ६ दिन काम गरी सकेपछी मात्र ठेकेदार काम गरेको साईड हेर्न आएको सोही समयमा ज्यालाको विषयमा कुरा कानी हुँदा निज ठेकेदारले रु.१२००/- दिन नसक्ने भनि रु.११००/- दिने भनेको ।
- ठेकेदारले मृतकलाई ज्याल दिने दिन मिति २०७३/०१/०९ गते साँझ १९:०० बजेको समयमा कृष्ण विक को कोठामा पैसा लगी गएको ।
- सोही दिन कृष्ण बहादुर विकले मृतकलाई रु.५००/- दिई मासु किन्न पठाएको र मृतकले मासु ल्याएपछि निजहरु चारै जना बसी रक्सी र मासु खाएको ।
- ज्याला दिने क्रममा ठेकेदार,निजको भान्जा र कृष्ण बहादुर विक सहितका व्यक्तिहरुले हिसाब किताब गरी ६ दिनको ज्याला रु.११००/- का दरले मृतकलाई दिएको ।
- निज मृतकले काम गरे बापतको ज्याला पाई सके पछी आफुले खाना र खाजा खाए बापतको रु.२५००/- कृष्ण बहादुर विकको श्रीमती सिता विकलाई दिएको ।
- मृतकले आफ्नो ज्याला पाईसके पछी ज्याला थोरै भएकाले अर्कै ठेकेदारसँग काम गर्ने कुरा गरी कृष्ण बहादुर विकको कोठाबाट बाहिरिएको ।
- बाहिरिने क्रममा माथी उल्लेखित कृष्ण बहादुर विक समेतका ३ जनाले मृतकको पिछा गर्दे गएको र निजहरुबीच ज्यालाकै विषयमा वादविवाद भएको ।
- विवादकै क्रममा का.जि.तारकेश्वर नपा- ९ पैयुँटार स्थितमा रहेको कमेरे खोलाको डिलमा पुगे पछी धकेली खोलामा लडाई तिनै जनाले कुटपिट समेत गरी बेहोस बनाई धारिलो हतियारले टाउको,निधार तथा घाँटीमा प्रहार गरी हत्या गरेको ।
- घटना पश्चात् निजहरु तिनै जना फरार रहेकोमा कृष्ण बहादुर विकलाई मिति २०७३/०१/२९ गते पक्राउ गरी थप कारवाहीको लागी मिति २०७३/०१/३० गते महानगरीय प्रहरी वृत्त बालाजु पठाईएको र अन्य अभियुक्तहरुको खोजी कार्य जारी रहेको ।












प्रतिक्रिया