काठमाडौं, २९ वैशाख । चैत ५ गते दिल्लीबाट रातारात नेपाली राजदूत स्थलमार्ग हुँदै आउने, त्यही दिन भारतीय राजदूत काठमाडौंबाट जहाजमा धनगढी हुँदै त्यहाँ पुग्ने कार्यक्रम बन्यो ।
तर, अघिल्लो दिन राति पौने १० बजे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनेहरकुमार खनालले फोनमै भने, ‘तपाईहरूको कार्यक्रमबारे उपयुक्त च्यानलमार्फत केन्द्रमा समन्वय गरिएको रहेनछ, यसकारण स्वीकृति दिन नसकिने भयो ।’ नेपाल ट्रभल्स एण्ड दुर्स एशोसिएसनका तर्फबाट सदूरपश्चिम च्याप्टर संयोजक मायाप्रकाश भट्ट चाहिँ यो सुन्दा आश्चर्यचकित हुने पालो थियो । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
हाम्रा राजदूत दीपकुमार उपाध्यायले सल्लाहकारलाई जानकारी नै नदिइ अकस्मात समकक्षीसहित संलग्न हुनेगरी त्यस्तो कार्यक्रम राख्न लगाएपछि प्रधानमन्त्री केपी ओली, रक्षामन्त्री भीम रावल, परराष्ट्रमन्त्री कमल थापा र गृहमन्त्री शक्ति बस्नेतको दिमाग तोको हो ।
सोहीबमोजिम अन्तिम घडीमा कार्यक्रम स्थगित गर्न २६ गते गृहले सिडिओलाई निर्देशन दियो ।
‘ए हजुर ! यो त भएन, सबै अतिथि बाटामा हुनुहुन्छ । यतिबेला खबर गरेर उहाँहरूलाई कसरी रोकनु ?’ भट्टले यस्तो आग्रह राख्दा प्रजिअ खनालको भनाइ थियो, ‘महामहिम राजदूतज्यूहरू आउने कार्यक्रमबारे न दूतावास, न परराष्ट्र न त गृह कर्तबाट खबर या निर्देशन नआउनु हाम्रो दोष होइन । गर्न नदिनु भन्ने आदेश छ । बाँकी कुरा सक्नुहुन्छ भने गृहसचिवज्यूसँग टुंग्याउनुहोस् ।’
राजदूत दीपकुमारलाई फिर्ता बोलाउने निर्णयका पछाडि यो गतिविधि पनि एउटा कारक रहेछ । आफूखुसी हिँड्ने गरेको, अनेक चलखेल गर्ने गरेको छ ।
दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने वैशाख २४ गते शुक्रबारको क्याबिनेट निर्णयबारे सोमबार दिल्लीस्थित दूतावासमा पत्र गयो– महामहिमलाई फिर्ता बोलाउने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’
फिर्ता आउने तयारीको लागि १५ दिनको समय दिइएको छ । तर तिनै उपाध्याय १९ गते आइतबार सार्वजनिक बिदाको दिन भएपनि बजेटको निम्ति लबिङ गर्न अर्थ मन्त्रालयमा दौडधुप गर्दै थिए । उनी पटना हुँदै सडकमार्गबाट ३–४ दिन दिनअघि नेपाल छिरेका हुन् । औपचारिक रुपमा नेपाल नआएका उनलाई काठमाडौंमा भेट्दा ओलीले सोधेका थिए– ‘के अभियानमा यता आउनुभा’को थियो राजदूतज्यू ?’
दीपकुमारको जवाफ थियो– ‘३–४ दिन भयो, घरायसी कामले आएको ।’ प्रचण्डले सरकार फेर्ने अप्रत्यासित विज्ञप्ति जारी गर्दा उनी काठमाडौंमै थिए ।
लगत्तै दिल्ली फर्किएका उनले राष्ट्रपतिको भ्रमण स्थगित भएको खबर पाएपछि बेलुका केपी ओलीलाई फोन नै गरे– ‘राष्ट्रपतिज्यूको अफिसियल भ्रमणलाई राजकीय स्टाटसमा चेञ्ज (अपग्रेड) गरिसकेको थिएँ । सबै कुराको तयारी पनि भइसकेको हो । यस्तो बेला एकतर्फी भ्रमण रद्द गर्दा छक्क परेँ । सल्लाह गरेको भए राम्रो हुन्थ्यो सोधेको भए सुझाव दिन्थेँ ।
आफूखुसी काठमाडौं आएका उपाध्यायसँग पहिले नै आक्रोशित ओलीले फोनमै जवाफ दिए– ‘तपाईको परामर्श अब यहीँ आएर दिनुहोला ।’ उपाध्यायलाई फिर्ता बोलाउनेबारे ओलीले पार्टीमा छलफल भने गरेका थिएनन् । बरु एमाओवादीसँग बालुवाटारमा नौँबुँदे सम्झौता गर्ने क्रममा सामान्य सल्लाहचाहिँ भएको बुझिएको छ ।















प्रतिक्रिया