काठमाडौं, २८ वैशाख । नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव रामबहादुर थापा ‘बादल’ले आफ्नो समूहको केन्द्रीय समितिको बैठक आह्वान गर्नुभएको छ ।
ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य समितिको मुख्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन बैद्यलाई पनि बोलाइएको छ । तर, अध्यक्ष बैद्य नआउने स्रोतको भनाइ छ ।
अध्यक्ष बैद्यले कुपण्डोलमा आजबाट सुरु हुन लागेको महासचिव थापाले बोलाएको बैठकमा सहभागी नहुन सर्कुलर गरेको बुझिएको छ ।
उता, नेकपा (माओवादी क्रान्तिकारी)का केन्द्रीय सदस्य रामदीप आचार्यले आफूहरूको बैठकका विषयमा विभिन्न अड्कलबाजी नगर्न आग्रह गर्नुभयो । ‘एकीकृत माओवादीसँगको पार्टी एकताका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो’, उहाँले भन्नुभयो, ‘एक महिना अगाडि स्थगित भएको बैठक आजबाट सुरू हुन लागेको छ ।’
केन्द्रीय समिति बैठकले पार्टी एकताका विषयमा ठोस निर्णय गर्न सक्ने सदस्य आचार्यले बताउनुभयो ।
आजको बैठकमा अध्यक्ष बैद्य र सो समूह सहभागी नभएमा नेकपा (माओवादी क्रान्तिकारी) औपचारिक रुपमा विभजन हुने स्रोतको भनाइ छ । महासचिव थापा समूह एमाओवादीसँग एकता गर्नेछ ।












प्रतिक्रिया