काठमाडौ, २७ बैशाख । एकीकृत नेकपा माओवादीका सचिव एवम पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले सत्तारुढ गठबन्धनको प्रमुख घटक एकीकृत नेकपा माओवादीसँग समेत छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएको गुनासो गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित संसदमा रहेका दलहरुसँग न्यूनतम सहमति गरेर ल्याउनुपर्नेमा आफुृहरुसँग समेत छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएको भन्दै मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने कुरा आफूहरुलाई समेत जानकारी नरहेको दावी गरे ।
सचिव पुनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष प्रचण्डसँग एकशब्द समेत छलफल नगरी मंसिरमा चुनाव गर्ने कुरा ल्याईएको छ । अहिलेको संविधानले गाविस चिन्दैन अनि केको निर्वाचन गर्ने ? यसरी छलफल नै नगरी सस्तो लोकप्रियताकोलागि नीति तथा कार्यक्रम ल्याउँदा पछि समस्या हुन्छ । नौ बुँदे सहमतिका कुराहरु यसमा परेका छैनन । सरकारको आयूकै विषयमा प्रश्न उठिरहेको बेला दिर्घकालिन विषयहरु ल्याउनु राम्रो होईन ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा नीति तथा कार्यक्रम गठबन्धनको संस्कार र शैली अनुसार नआएकोले यसमा आफूहरुको आलोचनात्मक समर्थन रहने स्पष्ट पार्दै बजेट ल्याउँदा सबैलाई सहमति र विश्वासमा लिएर ल्याउनु पर्ने सुझाव दिए ।
उनले नीति तथा कार्यक्रम राम्रो र केही आशा जगाउने खाले भएपनि यसको कार्यान्वयन हुने नहुने भन्नेमा समिक्षा गर्नु पर्ने आवश्यकता औल्याउँदै भुकम्प पीडितहरु त्रिपालमा बसिरहेको अवस्थामा प्रत्येक गाविसमा हेलिप्याड बनाउने कुरा खिसिटिउरी गर्ने विषय भएकोले यस्ता विषयले सरकारमाथिको विश्वासमा ह्रास ल्याउने तर्फसचेत गराए ।
सचिव पुनले नीति तथा कार्यक्रमको आधारमै बजेट ल्याउनु पर्ने सुझाव दिदै बजेटसँगै बजेट कार्यान्वयनको संरचना निर्माणमा पनि जोड दिनुपर्ने धारणा राखे ।
सरकार परिवर्तनको विषयमा भएको भनिएको भद्र सहमतिको विषयमा राखिएको जिज्ञासामा उनले राजनीतिक तहमा भएका सहमतिलाई त्यसै रुपमा लिनुपर्ने भन्दै बजेट पारित गर्दासम्म आफूहरु बर्तमान सरकारकै समर्थनमा रहने स्पष्ट पारे ।
सचिव पुनले भने, ‘केही राजनीतिक सहमति भएका छन् । त्यसलाई राजनीतिक रुपमै राख्नु पर्छ । जुन दिनसम्म यो सरकार रहन्छ हामी यसको समर्थनमा रहन्छौ । अहिले नै सरकार परिवर्तनको कुरा गरेर अस्थिर बनाउनु हुँदैन । सहमतिको सरकार गठनको लागि प्रयास गर्छौ ।’
कार्यक्रममा पुनले बजेट पास भएपछि ओली सरकारको आयु सकिने संकेत गरे ।













प्रतिक्रिया