१ कार्तिक २०८३, आइतबार

प्रत्येक प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Bhandari-sansad

काठमाडौँ, २७ वैशाख । सरकारले औद्योगिक पूर्वाधारका लागि प्रत्येक प्रदेशमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी कम्तीमा एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने कार्य यसै आवदेखि सुरु गर्ने भएको छ ।

व्यवस्थापिका–संसद्मा प्रस्तुत आगामी आव २०७३–७४ को सरकारको नीति तथा कार्यक्रममा आर्थिक रूपान्तरणका लागि प्रतिस्पर्धी एवम् दिगो औद्योगिक विकास कार्य अघि बढाइने उल्लेख छ ।

औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माण तथा सञ्चालनमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न नीतिगत, कानुनी तथा प्रक्रियागत व्यवस्था मिलाइने छ । औद्योगिक उत्पादनको दृष्टिले उपयुक्त भएका उद्योगमा पूर्वाधारका रुपमा सडक र विद्युत् प्रसारण लाइन निर्माण गर्ने कार्यलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

यसैगरी प्रतिस्पर्धी र तुलनात्मक लाभ हुने निकासीजन्य वस्तुको विकास र बजार विविधीकरण गरी विश्व बजारमा निर्यात गर्न वाणिज्य नीति, २०७२ र नेपाल एकीकृत व्यापार रणनीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ ।

नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय बजारको सम्भावना बढ्दै गएको तयारी पोसाक उद्योगको विकास र विस्तार गर्न सिमरामा दुई वर्षभित्र सबै पूर्वाधार पुर्याउने गरी विशेष आर्थिक क्षेत्र निर्माण कार्य अघि बढाइने तथा निर्यात प्रवद्र्धनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारको तर्फबाट उपलब्ध गराउने सेवा सुविधालाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ । रासस