काठमाडौं, २५ वैशाख । नेपाल भलिबल संघको ७ औं साधारणसभा आगामी वैशाख ३१ गते शुक्रबार काठमाडौंमा हुने भएको छ ।
शनिबार संघका महासचिव जितेन्द्र बहादुर चन्दले ७ औं साधारणसभा काठमाडौंको बुद्धनगरमा वैशाख ३१ गतेदेखि सुरु हुने जानकारी दिए । उनका अनुसार सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
साधारण सभामा भाग लिन देशभरीका प्रतिनिधि राजधानी आउने क्रम जारी रहेको उनले बताए । ‘सभामा भाग लिन देशभरीका प्रतिनिधि राजधानी आउने क्रम जारी छ । कुल १२७ भोटरले मतदानमार्फत नयाँ नेतृत्व चुन्नेछन् ।’
महासचिव चन्दका अनुसार ७५ जिल्लाका एक-एक जना प्रतिनिधि, पाँच विकास क्षेत्रबाट दुई–दुई जना गरी १० जना, रेफ्री कमिशनबाट एक जना, राष्ट्रिय महिला भलिवल टिमबाट क्याप्टेन एक जना, राष्ट्रिय पुरुष भलिबल टिमबाट क्याप्टेन एक जना, राष्ट्रिय क्लब लिग खेल्ने तीन वटा क्लब (जावला खेल भलिबल तालिम केन्द्र, ढोरपाटन भलिबल तालिम केन्द्र, न्यू डाइमण्ड स्पोर्टर्स क्लब)बाट एक–एक गरी तीन जना, मूख्य प्रशिक्षक एक जना र केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरु गरी ३५ जनाले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन् ।
भलिबल संघको नेतृत्व लिन वर्तमान उपाध्यक्ष मनोरञ्जन शर्मा दाबेदार रहेको महासचिव चन्दले जानकारी दिए । ४ वर्षदेखि उपाध्यक्ष रहेका शर्माले वर्तमान कार्यसमितिमा संगठनको हितमा काम गरेको भन्दै भलिबल महासंघको नेतृत्व पाउने महासचिव चन्दको विश्वास छ ।
















प्रतिक्रिया