८ कार्तिक २०८३, आइतबार

अध्यक्ष दाहालको कुर्सीमा निरन्तर आँखा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal_dahal_out_from_Baluwatar_579940530_657364696काठमाडौं, २५ वैशाख । एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी सभासद्हरू निर्धारित समयमा उपस्थित भइसकेका थिए ।

हदरबारस्थित संसदीय दल कार्यालयमा उनीहरूले अधिकांश समय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको कुर्सीतिर निरन्तर आँखा लगाइरहे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उनीहरू सायद चार दिनयता नेपालको राजनीतिमा उठेका प्रश्नहरूको उत्तर खोज्न आतुर थिए। उनीहरू त्यो प्रश्नको उत्तर दाहालकै मुखबाट सुन्न चाहन्थे ।

तर उनीहरूको यो चाहना पूरा हुन पाएन । अध्यक्ष दाहाल उपस्थित नै नभई करिब एक घन्टा चलेर संसदीय दलको बैठक सकियो । बैठक अवधिभर उनीहरूले एकआपसमा खासखुस गर्दै प्रश्न गरे, ‘अध्यक्ष दाहाल खै ?’

पार्टी सचिव एवं नीति तथा कार्यक्रम विभागका प्रमुख वर्षमान पुनले एकाएक सांसदहरूलाई बैठक प्रारम्भ भएको जानकारी दिँदै भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एमाओवादी अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव गर्‍यो । त्यसका लागि केही समय गम्भीर गृहकार्य भए पनि हामी सहभागी नहुने निष्कर्षमा पुग्यौं । हाम्रो पार्टीले उठाएका पाँचवटा एजेन्डामा समयबद्ध रूपमा काम गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले दिएपछि नौबुँदे सहमति भएको हो ।’

नौबुँदे सहमतिका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता उद्धृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्ष दाहालजी बजेट आएपछि कांग्रेसको प्रस्तावमा होइन, वर्तमान गठबन्धनका तर्फबाट मेरो प्रस्तावमा तपार्इं प्रधानमन्त्री हुनुहुन्छ।’

शान्तिप्रक्रियाअन्तर्गत सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोगको कामकारबाहीलाई अधिकार सम्पन्न गराउन ऐन संशोधन गर्ने, अदालतमा विचाराधीन द्वन्द्वकालीन मुद्दा फिर्ता लिने, सहिद परिवारलाई दिन बाँकी पाँच लाख रुपैयाँं आगामी बजेटमा विनियोजन गर्ने प्रतिबद्धतासमेत प्रधानमन्त्रीले गरेको जानकारी पुनले दिएका थिए ।

अध्यक्ष दाहालको अनुपस्थितिबारे अर्कै कार्यक्रममा व्यस्त रहेकाले सहभागी हुन नसकेको जानकारी पुनले बैठकमा दिएका थिए । सांसद अनिताकुमार परियारले विगत चार दिनयताका राजनीतिक घटनाबारे अध्यक्षबाटै जानकारी लिन खोज्नु नौलो नभएको बताइन् ।

पार्टी स्थायी समितिका सदस्यसमेत रहेका एक सांसदले भने, ‘विगत चार दिनयता मुलुकमा देखिएको राजनीति र त्यसमा अध्यक्षको भूमिकाले पार्टीको उचाइ र गरिमामा पुगेको क्षतिको यथार्थ कारण दिन नचाहेर अध्यक्ष दाहाल अनुपस्थिति भए।’

दाहालले प्रधानमन्त्री ओलीसँग सती जाँदा पार्टीलाई बलिदान गरेको भन्दै उनले चिन्ता व्यक्त गरे । जनयुद्धको सफलताबाट गणतन्त्रको नेतृत्व लिएको पार्टी ओली र देउवाको गोटी बन्नु मुलुककै लागि लज्जास्पद रहेको टिप्पणी उनको थियो ।