काठमाडौं, २५ वैशाख । राष्ट्रपति विद्यादेबी भण्डारीको भारत भ्रमण स्थगित गर्ने सन्देशसँगै भारतीय अधिकारीहरूले आश्चर्य व्यक्त गरेका छन् ।
परराष्ट्र स्रोतका अनुसार भ्रमण स्थगित होला भन्नेमा भारत थिएन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘हामीले तयारी गरिसकेका थियौँ, भ्रमण गरेको भए राम्रो हुन्थ्यो, बडो आश्चर्यमा परियो भन्ने जवाफ भारतबाट आएको छ’, परराष्ट्रका एक अधिकारीले भने ।
राष्ट्रपति कार्यालयका अनुसार पछिल्लो विकसित घटनाक्रमबारे भारतीय उच्च नेतृत्वसँग भेटवार्ता हुँदा राष्ट्रपतिले के बोल्ने भन्नेसमेत अन्योल थियो ।
‘सन्चोबिसन्चो सोधेर मात्रै राष्ट्रपति फर्किने कुरा थिएन, उहाँहरूलाई के भन्ने भन्नेमा पनि समस्या थियो’, राष्ट्रपति कार्यालयका एक सल्लाहकारले भने ।
सरकारले औपचारिक निर्णय नगरे पनि भ्रमणको तयारी अन्तिम चरणमा पुगेको थियो ।
प्रतिनिधिमण्डल करिब १२ जना रहने र सवारीमन्त्रीका रूपमा संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल जानेसमेत मोटामोटी तय थियो ।
भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनमा सिंहस्थ कुम्भ मेलामा जाने राष्ट्रपतिको तयारी थियो ।
उज्जैनमा भण्डारीको स्वागतका लागि तयारीसमेत थालिएको थियो ।
नयाँदिल्लीस्थित नेपाली दूतावासमा २७ वैशाख साँझ राष्ट्रपतिको सम्मानमा रात्रिभोज तय भएको थियो । दूतावासले निमन्त्रणा दिनसमेत थालिसकेको थियो ।















प्रतिक्रिया