– मोहन विष्ट
महेन्द्रनगर, २४ वैशाख । कञ्चनपुरको महेन्द्रनगरस्थित होटेलमा दुईजना कामदारको हत्या भएको छ । महेन्द्रनगरको गल्ली नम्बर ४ मा रहेको संगम होटेलमा बिहीबार मध्यराति १२ बजेतिर दुई जना कामदारहरूको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरी भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले होटेलका कामदारहरूको हत्या भएको जानकारी दिनुभयो । उहाँका अनुुसार होटेलका कामदार कृष्णसिंह विष्ट र भीम रोकायाको हत्या भएको हो । हत्याका क्रममा भएको आक्रमणबाट पदमराज विष्ट गम्भीर घाइते भएका छन् ।
मृत दुबैजनाको शवलाई पोष्टमाष्टमका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ ।
घाइतेको उपचारका कोहलपुर मेडिकल कलजेमा भइरहेको प्रहरीले जनाएको छ । घटना स्थलबाट बाहिर एक जोर चप्पल भेटिएकाले हत्याको घटना झन् रहस्यमयी बनेको छ ।
तीनैजनाले रक्सी खाएर एक आपसमा झगडा गरेर धालिलो हतियार हानाहान गरेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
‘घटनाको प्रकृति हेर्दा दुबैजनाको हत्या नै भएको देखिन्छ’, प्रहरी प्रवक्ता खनाले भन्नुभयो, ‘त्यसलाई प्रहरीले अनुसन्धान गर्छ’, घाइतेसँगको सोधनपुछपछि सबै कुरा बाहिर आउँछ ।’
हत्या भएका कृष्ण होटेलका कुक हुन् । अर्का मृत्यु भएका भीम र घाइते पदम वेटर रहेको होटेल सञ्चालक मोहनसिंह खत्रीले बताउनुभयो ।
उनीहरू सबै एउटै कोठाभित्र बस्दै आएका थिए । हत्याको घटना घाइते पदमराज चिच्याएपछि थाहा भएको थियो
‘म होटेलको सबैभन्दा माथिल्लो तलमा बस्छु । यिनीहरू सबैभन्दा तल्लो तलामा बस्छन्’, खत्रीले भन्नुभयो, ‘घटना भएको पनि मलाई केही थाहा छैन् ।’ (तस्बिर सौजन्य भास्कार केसी)












प्रतिक्रिया