काठमाडौं, २४ वैशाख । संघीय गठबन्धन बनेको एक महिना नबित्दै यसमा आबद्ध मधेसी दलहरूबीच चरम खटपट सुरू भएको छ ।
मधेसवादी सात दलको मधेसी मोर्चासहित २७ दलबाट निर्मित संघीय गठबन्धनको संयोजकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई चयन गरेको छ ।
फोरम नेपालको पार्टी कार्यालयमा बसेको गठबन्धनको बैठकले उपेन्द्र यादवलाई संयोजकमा चयन गर्दै विभिन्न १० वटा समितिहरू निर्माण गरेको छ ।
यसैबीच बिहीबार बसेको संघीय गठबन्धनको बैठकलाई तमलोपाले बहिष्कार गरेको छ । उपचारका लागि नयाँदिल्ली उड्नुअघि बैठकमा आउनका लागि उपेन्द्रले महन्थ ठाकुरलाई फोन गरेका थिए ।
महन्थ ठाकुरले आफू उपचारका लागि नयाँदिल्ली जानलागेको अरू कोही साथीहरू जान्छन् होला भनि जवाफ दिएका थिए ।
त्यसपछि अध्यक्ष ठाकुरले आफ्ना दलका ह्दयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, गोविन्द चौधरी, जितेन्द्र सोनल, वृषेशचन्द्रलाई सम्पर्क गरेका थिए । बैठकमा जान कोही तयार भएन ।
केही दिन पहिले जनकपुरमा बसेको बैठकमा संघीय गबन्धनको निकै आलोचना भएको थियो । मधेसी मोर्चालाई छायाँमा पारेर गठबन्धनको साथमा आन्दोलन गर्न सकिदैन भन्दै तराई मधेसमा गठबन्धनको ब्यानरमा आन्दोलन नगर्ने भनि आन्तरिक निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार तमलोपाका कोही पनि नेता बैठकमा सहभागी भएनन् । गठबन्धनको संयोजकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पनि इच्छा व्यक्त गरेका थिए । ठाकुरलाई संयोजक दिन उपेन्द्र यादवले चाहेनन् ।












प्रतिक्रिया