काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसकेको नौ वर्ष पुगेको छ ।
तत्कालीन पार्टी सभापति सुशील कोइरालाले रञ्जित कर्णलाई अध्यक्ष बनाएर महाधिवेशन गराउने जिम्मा दिएका थिए ।
तर, कर्णको असक्षमताका कारण उनले पाँच पटकसम्म मिति तोके पनि महाधिवेशन गराउन भने सकेनन् । कांग्रेसको नेतृत्व शेरबहादुर देउवामा पुगेसँगै यतिबेला कर्ण पुनः देउवासमक्ष पुगेर ‘महाधिवेशन गराउन सक्षम छु’ भन्दै चिल्लो घस्न थालेको आरोप नेविसंघका नेताहरूले लगाउन थालेका छन् ।
यसअघि असफल भइसकेका कर्णले कुनै पनि हालतमा महाधिवेशन गराउन नसक्ने नेविसंघका एक नेताले दाबी गरे । उनी भन्छन्, ‘कर्ण यतिबेला सभापति देउवा, नेता, रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायतलाई भ्रम छरेर नेविसंघको महाधिवेशन गराउँछु भन्दै हिँडिरहेका छन् ।’
जिल्लामा रहेको समस्या अहिले पनि जस्ताको त्यस्तै छन् । कतिपय जिल्लामा दुई समिति छन् । कर्णले त्यसलाई सल्टाउन पनि कुनै प्रयास गरेका छैनन् ।
भदौभित्र सभापति देउवाले महाधिवेशन गराउन नेविसंघ नेतृत्वलाई निर्देशन दिइसकेका छन् । देउवाको निर्देशनसँग संस्थापनबाट नैनसिंह महर र रामचन्द्र पौडेल समूहबाट मनोजमणि आचार्यले अध्यक्ष पदका लागि प्रचार प्रसार सुरू गरिसकेका छन् । तर, महाधिवेशनको अहिलेसम्म सुरसार भएको छैन ।
उता, ऋषिकेश जंग शाहसहितका नेविसंघका नेताहरू भदौभित्रै महाधिवेशन गर्ने तयारीका साथ दबाब दिइरहेका छन् ।
‘कर्ण यतिबेला पार्टीको केन्द्रीय सदस्य बन्नका लागि नेविसंघको महाधिवेशन गराउँछु भन्दै हिँडिरेका छन् । उनको योजना महाधिवेशनभन्दा पनि आफू केन्द्रीय सदस्य कसरी बन्ने भन्ने नै हो’, उनले थपे । यसअघि कर्णले अधिवेशन गराउने नाममा विभिन्न कलेजहरूबाट लाखौं असुलेको सार्वजनिक भएको थियो ।












प्रतिक्रिया