३० आश्विन २०८३, शुक्रबार

चिनियाँ वरिष्ठ पाइलटको सुझाव- ‘मौसम विचार गरेर मात्र उडाउनुस्, यात्रा सुरक्षित हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Plane Chin Nepal

– एकराज पाठक
हार्बिन (चीन), २२ वैशाख । चीनको एक प्रमुख जहाज निर्माण कम्पनी एभिक (एभिएसन इन्डस्ट्रिज चाइना)मा कार्यरत वरिष्ठ विमान चालक चाओ फेङ देले नेपाली विमान चालकलाई मौसमको विचार गरेर मात्र उडान भर्न सुझाएका छन् ।

नेपालका लुक्ला, जुफाल, जोमसोम लगायत विकट क्षेत्रमा निरन्तर सात वर्ष विमान चलाएका चाओले भने- ‘नेपाल सानो देश भए पनि छिटो छिटो परिवर्तन हुने मौसम विमान चालकका लागि ठूलो चुनौती हो ।’

उनले नेपालको यस्तो विशेषता आफूले सात वर्षको नेपाल उडानका क्रममा महसुस गरेको स्मरण गर्दै भने- ‘सुन्दा यो सुझाव सामान्य लाग्न सक्छ तर उड्नुअघि सबैतिरको मौसमको विचार गर्न सक्दा पनि धेरै दुर्घटनाबाट बच्न सकिन्छ ।’

सन् २००१ देखि एयर ड्र्यागनको विमान चलाएका उनले नेपालमा पछिल्लो समयमा बढ्दै गएको जहाज दुर्घटनाका सन्दर्भमा सो सुझाव दिएका हुन् । ‘नेपाल सानो छ, त्यहाँको मौसम पनि संसारको तुलनामा अलौकिक र राम्रो छ तर छिटो छिटो परिवर्तन हुने र थोरै दूरीमा पनि फरक मौसम हुनु पनि हवाई यातायातका लागि भने चुनौती हुने गर्छ’, उनको भनाइ छ ।

उनले उडानका समयमा कहिलेकाहीँ एअरलाइन्सको व्यवस्थापन तथा राजनीतिक तथा सरकारी दबाब पनि आउने गरेकाले यस्ता कुनै दबाबमा नपर्न पनि विमान चालकलाई आग्रह गरे। उनले भने- ‘कहिलेकाहीँ यस्तो दबाबको कुरा पनि सुनिन्छ तर पनि उडानको अन्तिम अधिकारी विमान चालक हुनुपर्छ र यस्ता कुनै विषयमा ध्यान दिनु हुँदैन।’

नेपालमा विमान दुर्घटना बढ्दै गएकामा उनले निकै चिन्ता गरे। उनले नेपालका कैयौँ विमान चालकलाई तालिम दिकको तथा कैयौं पटक नेपाली विमानको परीक्षण उडान सम्पन्न गरेका थिए। उनले त्यस समय नेपालमा सोही विमान कम्पनीद्वारा निर्मित वाई १२ जहाज उडाएका थिए। नेपाल ल्याउनका लागि चीनमा निर्मित वाई १२ जहाज नेपालका लागि उपयुक्त हुने भन्दै उनले थपे- ‘निकै छोटा छोटा मात्र उडान भए पुग्छ र त्यसका लागि यो जहाज ठीक छ।’ उहाँ उक्त कम्पनीको प्रमुख विमान चालक हुन् ।

हाल सो कम्पनीबाट १८ देशका ४० भन्दा बढी एअरलाइन्सले विमान खरिद गरी सञ्चालन गरिरहेका छन् र उहाँ ती अधिकांश विमानको परीक्षण उडान गर्छन् ।

चिनियाँ वरिष्ठ विमान चालक चाओ फेङ दे
चिनियाँ वरिष्ठ विमान चालक चाओ फेङ दे ।

नेपालका विमानस्थल साना र धावन मार्ग छोटा वा साँघुरा छन् भने खोँच र अग्ला पहाड पनि नाघेर उड्नुपर्ने भएकाले नेपालका लागि यी साना विमान नै उपयुक्त हुने उनको भनाइ छ । पहिलेको तुलनामा हालैका वर्षमा विमान दुर्घटना दर नेपालमा बढ्दो देखिनु चिन्ताको विषय हो भन्दै उनी भन्छन्– ‘पहिलो र मुख्य त मौसम नै हो र यदि यस बाहेकका अरू पनि कारक छन् भने यिनको खोज–अनुसन्धान समयमै र व्यापक मात्रामा गर्नु जरुरी छ।’

‘मलाई नेपाल प्यारो र अति सुन्दर लाग्छ, नेपाललाई मन पराउने र नेपालीलाई माया गर्ने संसारका धेरै देश छन्’–उनले भने । नेपालजस्तो भौगोलिक विकटता र विविधतायुक्त देशमा जहाज उडाउनु बडो चुनौतीको विषय रहेको बताउँदै उनले भने–‘छोटै दूरीमा छिटो छिटो फेरिने फरक मौसमलाई नै चालकले पहिलो प्राथमिकतामा राख्नु जरूरी छ ।’

‘विमान उडाउनुअघि गरिने जहाजको पूर्वजाँच पनि अर्को महत्वपूर्ण काम हो र यसतर्फ पनि चालक नै बढी सचेत र सजग हुनु जरुरी छ’, उनले भने। तीन दशकभन्दा बढी विमान उडाएका ६७ वर्षीय अनुभवी विमान चालक चाओ भन्छन्- ‘विमान चालकले नै जतिसुकै ढिला भए पनि धैर्य गरी विमानको पूर्वजाँच गर्ने र आफ्नो स्वविवेकको अगाडि कहिल्यै कसैको दबाबमा नपर्नाले ठूला दुर्घटनाबाट जोगाउन सकिन्छ । रासस