– विमल योगी
काठमाडौं, २१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आजपनि जारी छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा जारी बैठकमा राप्रपा नेपालका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री कमल थापाको चर्चा भएको छ । थापाले बोकेको हिन्दू राष्ट्रको एजेण्डाको कुरा उठेपछि थापाको समेत चर्चा भएको हो ।
स्रोतका अनुसार कमल थापाले उठाएको हिन्दू राष्ट्रको एजेण्डामा कांग्रेस पछि लाग्न नहुने कुरा सांसदहरुले उठाएका छन् । १३ औं महाधिवेशनमा कोइराला समूहबाट देउवातिर आएका सांसद फर्मल्ला मन्सुरले राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोकेको हिन्दू राष्ट्र एजेण्डाको पछाडी कांग्रेसले लाग्न नहुने बताए ।
बैठकमा कमल थापाको आलोचना गर्दै उनले भने- ‘अर्काले बोकेको एजेण्डामा कांग्रेस हिड्नुहुँदैन् । ठिक छ जनताले चाहन्छन् भने कुनैदिन आउँला । संविधान बनाउने कांग्रेसले संविधानमा भएका कुराको रक्षा गर्नुपर्छ ।’
अहिले पाण्डा (पण्डित)हरुले संविधानलाई कार्यान्वयन हुन नदिएको आरोप लगाउँदै उनले संविधानमा ग्यारेटेड गरिएका प्राप्त उपलब्धिको संरक्षण कांग्रेसले गर्नुपर्ने बताए ।
बैठकमा अन्य सांसदहरुले सरकार परिवर्तनका लागि नेतृत्वलाई दबाब दिएका छन् ।
केपी ओली नेतृत्वको सरकारले काम गर्न नसकेको, भूकम्प पीडितको आवास एक वर्ष वितिसक्दा पनि व्यवस्था गर्न नसकेको, आपूर्ति हुँदाहुँदै पेट्रोलियम पदार्थ वितरण सहज हुन नसकेको र संविधान कार्यान्वयनमा ध्यान नपुगाएको भन्दै अब कांग्रेसले सत्ताको नेतृत्व लिनुपर्ने दबाब सांसदहरुले दिएका छन् । उनीहरुले यो सरकारको भण्डारफोर गर्नुपर्ने धारणा पनि राखेका छन् ।
यसरी धारणा राख्नेमा सांसदहरु बुद्धि सागर चौधरी, पार्वती डिसी चौधरी, रामचन्द्र पोखरेल, बुद्धिराम भण्डारी, प्रकाशसरण महत, सञ्जय गौतम, तप्त बहादुर विष्ट लगायत रहेका छन् ।
















प्रतिक्रिया