– झलक पाली
बैशाख १८, डोटी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं व्यवस्थापिका सांसद बिरबहादुर बलायरले प्रदेश नं. ७ को संघीय राजधानी दिपायल नै हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टी केन्द्रिय सदस्यमा निर्वाचित भईसकेपछि पहिलो पटक गृह जिल्ला डोटी पुगेका नेता बलायरले शनिबार प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
विगतमा भएको अखण्ड सुदूरपश्चिमको आन्दोलनमा समेत भूमिका खेलेका नेता बलायरले यद्यपी अहिले नै राजधानीका विषयमा छलफल गर्नुपर्ने बेला भईनसकेको बताए । नेता बलायरले दिपायल राजधानी बनाउन ५ वटा उपयुक्त आधार पेश गरेका छन् ।
पहिलो : मौजुदा क्षेत्रीय सदरमुकाम
अहिले कायम रहेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षैत्रीय सदरमुकाम दिपायल भएकाले पनि प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने काँग्रेस नेता बलायरले बताएका छन् । उनले भने–‘प्रदेश नं. ७ को भू–भाग भनेकै अहिलेको सेती र महाकाली हो, यसमा कुनै परिवर्तन हुँदैन, अखण्ड सुदूरपश्चिमको आन्दोलन पनि यसै जगमा उठेको हो, त्यसैले दिपायल राजधानी हुने स्पष्ट आधार हो ।’
दोश्रो : नौ वटै जिल्लाको केन्द्रविन्दु
सुदूरपश्चिम अर्थात प्रदेश नं. ७ मा रहेका सबै जिल्लाहरुको भौगोलिक हिसाबले पनि केन्द्र विन्दु दिपायल नै पर्ने भएकाले दिपायल राजधानी हुनुपर्दछ । ‘खै कसरी कैलालीको अत्तरीयाको कुरो बाहिर आयो, प्रदेश नं. ७ को भूगोलका हिसाबले केन्द्र बिन्दु भनेकै दिपायल हो । दार्चुला र बाजुराका जनताले अत्तरीया राजधानी भयो भने कस्तो दुःख खेप्नुपर्ला ?’–उनले प्रतिप्रश्न गरे । उनि थप्छन्–‘यस क्षेत्रका सबै जिल्लाहरुको केन्द्र विन्दु दिपायल पर्ने भएकाले बरु अँझै सहजताका लागि सडक–बाटोको पहुँच छिटो छरितो हुने गरि विस्तार गर्ने काममा लाग्नुपर्छ ।’
तेश्रो : पर्याप्त पूर्वाधार र जमिनको उपलब्धता
बाइसे चौबिसे राज्यकै पालादेखि डोटी एक गौडा भएको र अहिले विभिन्न क्षेत्रीय कार्यालयहरु पनि रहेकाले पनि प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्दछ । प्रायजसो क्षेत्रीय कार्यालयका आफ्नै भौतिक संरचना बनेकै अवस्थामा रहेको र थप आवश्यक पर्ने भौतिक संरचना तथा पूर्वाधार निर्माणका लागि दिपायलका आसपासमा पर्याप्त जमिनको उपलब्धता भएकाले पनि राजधानी दिपायल हुनुपर्दछ । उनि भन्छन्–‘बुटवलभन्दा पश्चिमतिर एउटा ठूलो सभा हल समेत छैन, दिपालको राजपुरमा ५ सय जना अटाउन सक्ने सेती सभाहल छ, सुरक्षा निकायका साथै विषयगत निकायका आफ्नै पूर्वाधार रहेका छन् ।’
चौथो : हावापानीका दृष्टिकोणले पनि उपयुक्त
विश्वमा अहिले जलवायु परिवर्तनमा निकै ठूलो उतारचढाब आईरहेकाले हावापानीको अनुकूलताले पनि प्रदेश नं. ७ को राजधानी दिपायल नै हुनुपर्ने सांसद बलायरको तर्क छ । उनले भने–‘आगामी १ सय वर्षको पनि कल्पना नगरेर संघीय संरचनामा जाने हो भने त्यो राम्रो हुँदैन । अहिलेकै अनुसार पनि जलवायु परिवर्तन हुँदै जाने हो भने अहिले ४६ डिग्री रहेको कैलालीको अत्तरीयाको तापक्रम आगामी ५० वर्षमा ६० डिग्री सेल्सियस पुग्नेछ । जब की ५५ डिग्री सेल्सियसमा मानव अस्थित्व नै खतरापूर्ण हुन्छ ।’
पाँचौं : सुरक्षा स्थिती
सुरक्षा खतराका दृष्टिकोणले पनि प्रदेश नं. ७ को राजधानी दिपायल उपयुक्त रहेको काँग्रेस नेता एवं सांसद बलायरको तर्क छ । केहि दिन पहिले मात्रै ५ भारतीय प्रहरी एके ४७ हतियार सहित डोटी पुगेको बताउँदै कैलालीमा प्रदेशको राजधानी भएमा सुरक्षाको दृष्टिले खतरायुक्त हुने उनले बताए । बलायरले भने- ‘कञ्चनपुर, कैलाली, डडेल्धुरा हुँदै डोटी त भारतीय प्रहरी हतियारसहित पुगे, कैलाली त बोर्डरबाट १० किलोमिटर मात्रै हो, त्यहाँ त कति आउँछन्-आउँछन् ।’ त्यसैले पनि राजधानी दिपायल नै हुनु आवश्यक छ ।
यि पाँच आधारका साथै अन्य पूर्वाधारहरुको निर्माण, विकास, विस्तार गर्न सजिलो भएकाले पनि प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने उनले बताए ।
पत्रकार भेटघाटमा बोल्दै सांसद बलायरले वर्तमान सरकार कसरी सत्ता टिकाई राख्ने भन्ने खेलमा लागेको आरोप लगाएका छन् । संविधान लेख्दा सँगै रहेर हस्ताक्षर गरी जारी गर्ने दलहरुलाई बाहिर राखेर संविधानको कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने उनले जिकिर गरे ।
अहिलेको सरकारले कुटनीतिक भाषा, शैली र मर्यादा कायम राख्न नसकेको उनको भनाई छ । साथै नेपाली काँग्रेसले सरकारमा जान चाहेको भन्ने हल्ला सत्य नभएको भन्दै काँग्रेसले प्रतिपक्षमै रहेर भूमिका खेल्ने जनाए ।
नेपाल प्रेस युनियन डोटीका अध्यक्ष योगेन्द्र बलायरको अध्यक्षतामा सत्कार होटेल दिपायलमा सम्पन्न पत्रकार भेटघाटमा काँग्रेस डोटी सभापती प्रदिप देउवा लगाएत डोटीमा क्रियाशील विभिन्न पत्रकारहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया