– अनिल खत्री
गुल्मी, १७ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।
जिल्लाको दोहोली गाविसको जुकेखोला सामुदायिक वनमा शुक्रवार बिहान देखि लागेको लागेको आगो निभाउने क्रममा दोहोली ५ का ६२ वर्षका तुल्सीलामा गुरुङ्ग र दोहोली वडा नं. ६ का लोक बहादुर गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
वनमा लागेको आगो निभाउन गएका तुल्सीलामा गुरुङ्गको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का लोक बहादुर गुरुङ्ग उपचारको लागी पाल्पा लैजाने क्रममा वाटोमै मृत्यु प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घाइते भएका लोक बहादुरलाई जिल्ला अस्पताल गुल्मीमा उपचार हुन नसकेपछी थप उपचारको लागी पाल्पा पठाएको थियो । आगोले उनको शरिरको ७० प्रतिशत भन्दा वढी भाग जलेको अस्पतालले जनाएको छ । उक्त वनमा लागेको आगो निभाउने क्रममा सोहि ठाउँ निवासी मिन बहादुर लामा घाइते भएका छन् । उनको स्थानिय मेडिकलमा उपचार भईरहेको छ । उक्त वनमा लागेको अझै नियन्त्रणमा आउन सकेको छैन् ।
गुल्मीमा केहि दिन अघि आगो निभाउने क्रममा एक जनाको ज्यान गईसकेको छ । केहि दिन यता जिल्लाका बिभिन्न ठाउँमा लागेको आगोले एक दर्जन भन्दा वढी घर र गोठ जलेका छन् । बिहिवार राती देखि जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
धार्मिक तथा ऐतिहासिक स्थल रेसुङ्ग वनमा लागेको आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियले आगो निभाउने प्रयास जारी राखेका छन् । गुल्मीका बिभिन्न ठाउँमा लागेको आगलागीबाट १ हजार २ सय हेक्टर भन्दा वढी जंगल जलेको जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत कर्णबहादुर पाण्डेयले जानकारी दिनुभयो ।












प्रतिक्रिया