काठमाडौँ, १८ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको दुई दिने भ्रमणको समाचार सङ्कलन गर्न सूचना विभागले २ सय ९६ विशेष पास वितरण गरेको छ ।
मोदीको नेपाल भ्रमणको अवसरमा तय भएका औपचारिक कार्यक्रमको समाचार सङ्कलनलाई व्यवस्थित गर्न विभागले मुलुकका विभिन्न सञ्चारमाध्यमका साथै विदेशी सञ्चारमाध्यमलाई सो पास वितरण गरिएको जानकारी दिएको छ ।
वितरण गरिएका विशेष पासमध्ये ५० पास मोदीको भ्रमण सम्बन्धमा विशेष कार्यक्रमको समाचार सङ्कलनका लागि भारतबाट आएका र नेपालमै रहेका विदेशी सञ्चारमाध्यमका प्रतिनिधिलाई वितरण गरिएको हो ।
भारतीय प्रधानमन्त्रीको भ्रमणसम्बन्धी समाचार सङ्कलनलाई व्यवस्थित र मर्यादित तबरले सम्प्रेषण गर्नका लागि त्यसखालको व्यवस्था गरिएको हो ।
वितरण गरिएका पासमध्ये मोदीको नेपाल आगमनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा समाचार सङ्कलनका लागि आइतवार ७५ जना सञ्चारकर्मी उपस्थित भएको विभागले जनाएको छ ।
यससँगै नेपालका सरकारी सञ्चारमाध्यमहरुलाईमात्र परराष्ट्र मन्त्रालयले छुट्टै सुरक्षा पाससमेत वितरण गरेको छ । त्यस्तै व्यवस्थापिका–संसद्बाट मोदीले सदनलाई सम्बोधन गर्ने कार्यक्रमको समाचार सङ्कलनका लागि छुट्टै पास वितरण गरिएको छ ।
















प्रतिक्रिया