– खगेन्द्र कार्की
इटहरी, १३ वैशाख । वर्षमा तीन पटक मेला लाग्ने सुनसरीको रामधुनी ऐतिहासिक धार्मिक स्थल अहिलेसम्म वेवास्ताको शिकार बनेको छ ।
भगवान मर्यादा पुरुषोत्तम श्री रामले एक रात बास बसेर धुनि तापेको किम्बदन्तीका आधारमा परापूर्वकालदेखि नै भगवान श्री रामको नामबाट चर्चा कमाएको यस मन्दिरमा श्री रामको मन्दिर अहिलेसम्म बन्न सकेको छैन । धार्मिक र पर्यटकीय क्षेत्रबाट मनग्गे आम्दानी गर्न सक्ने प्रचुर सम्भावनाको बोकेको यस स्थलको विकास गर्न सरकारी तथा गैरसरकारी सम्बन्धित निकायको ध्यान पटकक्कै पुग्न सकेको देखिएन, अरु झनै वेवास्ताको शिकार बन्दै गएको छ । पूर्वाधार निर्माणका हिसाबले रामधुनि टिठलाग्दो मात्र थिएन राजमार्ग नजिकमा देखिएका शिमसार क्षेत्रलाई हेर्ने हो भने २२ एकड क्षेत्रफलमा फैलिएको यो क्षेत्र धेरै पछाडि परिसकेको अनुभूत गराएको छ । स्थानीय निकायदेखि जिल्ला विकास, पर्यटन बोर्ड वा सरकार कसैको ध्यान यसले तान्न सकेको देखिएन । यद्यपि यहाँको मेलाको सानो आयस्रोतबाट पनि जेनतेन काम गर्दै हिजो धुनि र मन्दिर मात्र भएको ठाउँलाई जति लाग्नु पर्ने हो त्यति नभए पनि विकासका लागि धिमा गतिमै भए पनि कामहरु भईरहेका छन् ।

३ वैशाख २०७३ का दिन लागेको रामनवमी मेलाबाट पनि भनेको जस्तो आम्दानी गर्न नसकेको मेला आयोजक कमिटीका संयोजक तथा रामधुनि वन संरक्षण समितिका अध्यक्ष समेत रहेका चुडामणी सुब्बा बताउँछन् । चैत्र महिनामा लाग्ने मेला ‘मेला महोत्सव’को महिना वैशाखमा लागेको र रामनवमी कै दिन इटहरीमा समेत मेला लाग्ने भएकोले भक्तजनहरुको भिड त्यति नभएको उनी स्वीकार्दै गर्दै निराशाजनक भन्न नमिल्ने तर्क दिँदै भन्छन– पहिला आगोको धुनि र एउटा मन्दिर सिवाय केही नभएको ठाउँमा अहिले यत्तिको देखिनुले आशावादी बन्नु र बनाउनुपर्छ । उनका अनुसार रामनवमी मेलाबाट जम्मा नब्बे हजारको हाराहारीमा आम्दानी गर्न सफल भएको छ । रामधुनि वनमा बाला चर्तुदशी, विवाह पञ्चमी र रामनवमी गरी तीन पटक मेला लाग्ने गर्दछ । सबैभन्दा ठूलो भनेको बालाचर्तुदशी मेला नै हो । रामनवमी र विवाह पञ्चमी मध्यमस्तरको मेला हुने गरेको छ जसले रामधुनि मन्दिर व्यवास्थापन समितिलाई आर्थिक स्रोत जुटाई सकेसम्मको विकासमा आर्थिक रुपबाट सहज बनाईदिएको छ । भारतबाट आएका बाबाहरुको सहयोग र सक्रियतामा त्यहाँ गौपालन, धर्मशालालगायतका केही भवन बन्दै गरेको र मेलाबाट उठेको सम्पूर्ण रकम यसैमा खर्च गरिने सुब्बा बताउँछन् ।
यद्यपि उक्त स्थलमा व्यापारको लागि आएका र भक्तजनहरुको भने फरक विचार रहेको छ । विगत र वर्तमानको मेलाको समिक्षा गर्दै व्यापारी रामप्रित साह भन्छन– हेर्नुस, तपाई मिडियाकर्मी हो भने यहाँको वास्तविकता लिएर जानुस् । यही हेर्नुस कति फोहोर छ, उता पोखरी हेर्नुस् पानीमा हात हाल्न सक्ने अवस्था छैन, यता पुराना भवन हेर्नुस् धमिरा लागेका छन् । खानेपानी, ट्वाईलेटको राम्रो प्रबन्ध छैन । भिड मात्र खोज्ने, आर्थिक संकलन मात्र गर्न खोज्ने तर यहाँको आधारभूत संरचना, पर्यटकीय मापदण्डका आधारमा हुनुपर्ने कुराहरुको खोजी गरी यस क्षेत्रको व्यापक विकास र बिस्तार अब पनि नगर्ने हो भने रामधुनिले आफ्नो पहिचान र चिनारी गुमाउने छ ।

यसैगरी, इटहरीबाट श्रद्धालु भक्तजनको रुपमा इटहरीबाट गएका कविन्द्र्र शर्मा भन्छन– यो क्षेत्रको पहिचान आज भएको होइन । धार्मिक हिसाबले, ऐतिहासिक हिसाबले यसको महत्वका बारेमा परापूर्व कालदेखि नै जानकारी भएको हो । भर्खरै मात्र पहिचानमा आएका राजमार्ग नजिकमा पर्ने सिमसार क्षेत्रहरु कस्ता भईसके, उनीहरुको आर्थिक स्रोत ठूलो भईसक्यो, अनुदानको ओइरो लाग्न थालिसकेको छ । इटहरीदेखि उर्लाबारीसम्मका राजमार्ग नजिकका पर्यटकीय स्थलहरुको विकास द्रुत गतिमा भएको छ । तर यो रामधुनि राजमार्ग भित्र पर्छ, धेरै भित्र पनि होइन, त्यो पनि वरीपरि जंगल नै जंगलले घेरिएको हुँदा सम्बन्धित निकायको आँखा यहाँसम्म आई नै पुग्दैन, यहाँका रुखमा धेरैले आँखा गाडेका छन् तर यो ऐतिहासिक पृष्ठभूमि बोकेको सांस्कृतिक, धार्मिक महत्व बोकेको स्थललाई भने चटक्कै माया मारेका छन् । यस मन्दिरभित्र धुनि (आगो) कहिल्यै ननिभ्ने किम्बदन्ती होइन यथार्थमा निभ्न नदिने मात्र हो । मेला व्यवस्थापन समिति कमजोर बनेको छ । प्रचारप्रसार नगरी, सम्बन्धित निकायसँग समन्वय नगरी एकल रुपमा अगाडि बढ्न खोज्नुको प्रतिफलले पनि होकि भन्ने लाग्छ । शर्मा थप्छन्–स्थानीय भजनकिर्तन टोलीले दुःख गरेर सानो पानीको ट्याङ्की राखिदिएकोले आज यसो पानी चुहिएको देख्न सम्म पाइएको छ ।
अर्का पकलीका व्यापारी रामेश्र यादव भन्छन्– धेरै कुरा अव्यवस्थित छ तथापि यस पटक एउटा नौलो कुरा के देखियो भने विभिन्न संघसंस्थासँग समन्वय गरेर यहाँ उपस्थित भक्तजनहरुको स्वास्थ्य सुरक्षाका दृष्टिकोणबाट मोरङसुनसरी सेवा समाज र बेदान्त पोलिक्लिनिक इटहरीले संयुक्तरुपमा निशुल्क रुपमा शुद्ध र सफा खानेपानी वितरणसँगै प्राथमिक स्वास्थ्य शिविर राखेर स्वास्थ्यसँग सम्बन्धित अकल्पनीय घट्ना न्युनिकरणका निम्ति एम्बुलेन्स समेतको व्यवस्था गरेकोमा खुशी लागेको छ । त्यति मात्र होइन यहाँ निशूल्क सर्वत पानीसमेत बाँडिएको छ यो यस पटकको नौलो कुरा हो ।
वास्तवमा यस्तै थियो त्यो दिन रामधुनि । त्यहाँको व्यवस्थापन उत्साहजनक थिएन । यद्यपि सुरक्षा व्यवस्था भने कडा पारिएको र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति भने रहेको देखियो । पछि ति सुरक्षाकर्मीहरुलाई पालैपालो बोलाउँदै सम्मानसमेत गरिएको थियो । त्यहाँ एक ठाउँमा बसेर आयोजक समिति गौपालनका लागि सहयोग गर्नुस् । उहिले यस क्षेत्रमा २०० गाईहरु थिए । गहुत पनि काम लाग्ने, गाई भगवानको पुजा गर्न पनि सकिने, दुध उत्पादन पनि हुने, दुई चार जनाले रोजीरोटी पनि पाउने र दूग्धजन्य खाद्य सामग्री उत्पादनबाट आम्दानी पनि गर्न सकिने भएकोले सहयोग गर्नुस् । एउटा इँटाको मूल्य दिनु भयो भने पक्कै हाम्रो गौपालन पूर्ण रुपमा सफल हुनेछ भन्दै माइकिङ गरिरहेको सुनिन्थ्यो । यदि गौपालनको लागि त्यो कार्यक्रम नल्याएको भए सम्भवतः त्यति ठूलो रकम ९० हजारको हाराहारीमा रकम संकलन हुन असम्भव थियो । विगतका वर्षहरुमा खचाखच तिर्थालु, भक्तजनहरुको घुइँचो लाग्ने रामनवमी मेला यस पटक पातलो मात्र देखिएन दिउसो ३ः०० बज्दा प्रायः व्यापारीहरुले सामान उठाईसकेका दृश्यले व्यापारिक हिसाबले समेत फलदायी देखिएको थिएन । तद्यपि त्यस ठाउँमा एकल तथा सामूहिक ब्रतबन्ध गर्नेहरुको समूह भने धेरै देखिएको थियो । माग्नेहरुको घुइँचो बढी देखिएको सो स्थलको संरक्षणसहित धार्मिक तथा पर्यटकीय दृष्टिले विकासको ढोका खुलाउनु पर्ने देखिन्छ ।
रामनवमी मेलाका अवसरमा रामधुनी, सुनसरीमा ०३ वैशाख २०७३ का दिन निःशुल्क शुद्ध पिउने पानी तथा प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मोरङसुनसरी सेवा समाज र बेदान्त पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रा.लिको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा मोरङसुनसरी सेवा समाजका पदाधिकारीहरु अध्यक्ष बद्रीप्रसाद बिमली, उपाध्यक्ष द्वय रामनाथ भण्डारी, उर्मिला कार्की बस्नेत, सचिव खगेन्द्र कार्की, कोषाध्यक्ष विवेक भट्टराई, सदस्य लक्ष्मी ढकाललगायत सल्लाहकार संयोजक गोकुलबहादुर थापा, एम्बुलेन्स चालक दिपेन्दै घिमिरे र पूर्व सुनसरी शाखा सदस्य ज्ञानेन्द्र पाण्डेले पानी वितरण र वेदान्त पोलिक्लिनिक तथा डाइग्नोसिस प्रा.लि.का तर्फबाट स्वास्थ्यकर्मीहरु चन्द्रबहादुर श्रेष्ठ, सावित्रा मगराती र मनमाया महतले बिहान ७ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म सेवा प्रदान गरिएको थियो । शुद्ध पिउने पानीसहित ४ दर्जनबढीको स्वास्थ्य जाँच गरिएको सो मेलामा मेला आयोजक समितिले दुवै संस्था तथा पदाधिकारीलाई सम्मान समेत गरेका थियो ।
















प्रतिक्रिया