काठमाडौं, १३ वैशाख । वरिष्ठ पर्यटन व्यवसायी एवं समाजसेवी मोहन लम्सालको संयोजनमा तारुका वडा नं ७ मा हस्तिकेशर विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
चार कोठे पक्कि भवनसहित, सावर सिष्टमको शौचालय भवन निर्माणका लागि करिब ४० लाख रुपैयाँ लगानी गरिएको छ । विद्यालय भवनमा बेच्च, टेवुल, वोर्ड समेत सहयोग स्वरुप प्रदान गरिएको छ ।
उक्त भवन उद्घाटन गर्न लम्सालको नेतृत्वमा ब्रिटिश नागरिक टोनी आडेन, सान्द्र आडेन र गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी, गोरखापत्र दैनिकका शरद सुवेदी सहितको टोली शनिवार तारुका पुगेका थिए । प्रमुख अतिथिको रुपमा निम्त्याईका लम्सालले तारुकामा विकास निर्माणको अभियान आफूले थालनी गरेको र दिनप्रतिदिन सफलता समेत हाँसिल भएको प्रतिखुसी व्यक्त गर्दै तारुकालाई नमुना बस्ती बनाउन सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले केही समयको अन्तरालपछि तारुकाबासीले खानेपानी र स्वास्थ्यको पनि सुविधा पाउने बताउनुभयो । सोही दिन लम्सालले वडा नं ५ मा रहेको नमुना जनजागृती विद्यालयलाई ४८ सेट बेन्च, टेवुल प्रदान गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले तारुकाको विकासका लागि आफु दु्रतगतिमा लागि परिरहेको भन्दै यो विकासको अभियानमा साथ र सहयोगका लागि सम्पूर्ण स्थानीय राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले सामाजिक सेवाको रफ्तारमा राजनीतिक प्रभाव र दबावबाट काम गर्न असम्भव रहेको भन्दै विकास निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिनुभयो । मोहन लम्सालको मानवियसेवा प्रतिको उदारतालाई मूत्तकण्ठले प्रशंसा गर्दै विशेष धन्यवाद ज्ञापन गर्नुभयो । विशेष अतिथि टोनी आडेनले भूकम्पले तारुकाको भौतिक संरचनाहरुमा ठुलो क्षति पु¥याएको भन्दै यहाँका अन्य भौतिक संरचनाहरु निर्माणमा समेत सहयोग गर्ने बचन दिनुभयो । उहाँले विद्यालय निर्माण गर्न छोटो समयमै सफल भएकोमा खुसी व्यक्तगर्दै विद्यालयमा पठन पाठनलाई सहजता दिन लागिपर्ने पनि बताउनुभयो ।
टोनीले विद्यार्थीहरुका लागि पोशाक पनि प्रदान गर्नुभएको थियो । विद्यालयका प्रधानध्यापक विष्णु अधिकारीले विद्यालय निर्माणमा सहयोग गर्ने टोलीलाई धन्यवाद दिनुभयो । यसअघि लम्सालकै संयोजनमा वडा ४ मा विपि प्रावि, वडा नं ५ मा नमुनाजनजागृती विद्यालयको क्रमश ६ कोठे र ४ कोठे सुविधा सम्पन्न भवन निर्माण गरि स्थानीयलाई हस्तान्तरण गरिसकिएको छ ।
















प्रतिक्रिया