३० आश्विन २०८३, शुक्रबार

लाप्राकलाई नमुना वस्ती बनाउन सरकार र एनआरएनबीच समझदारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nrn-laprak

लाप्राक, १२ बैशाख । गत बर्षको महाभूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना वस्ती बनाउन गैरआवासीय नेपाली संघ र सरकारवीच समझदारी भएको छ ।

आइतबार लाप्राक गाउँमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थीतिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, शहरी विकाश मन्त्रालय र गैरआवासीय नेपाली संघवीच समझदारीपत्रमा हस्ताक्षर भयो ।

समझदारीअनुसार गैरआवासीय नेपाली संघले लाप्राकको साविक अस्थायी वस्ती रहेको स्थानमा एकीकृत वस्ती विकाश गर्ने छ ।

‘हामी तत्कालै वस्ती विकाश गुरुयोजना तयारी पारेर सरकारलाई बुझाउने छौं’ हस्ताक्षरपछि गाउँलेलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भन्नुभयो–‘सरकारले त्यसलाई स्वीकृत गरेपछि आगामी बर्षात् अगाडी नै निर्माण कार्य सुरु गरेर आगामी हिउँदसम्ममा तपाइँहरुलाई नयाँ घर हस्तान्तरण गर्ने लक्ष्य छ ।’

सरकारले लाप्राक गाउँका ६ सय १२ घरधुरी भूकम्पबाट प्रभावित रहेको तथ्याङ्क संकलन गरेको छ । पुरानो वस्ती रहेको ठाउँ प्राबिधिक हिसावले वस्ती राख्न उचित नभएपछि सो वस्तीको केही माथि हाल अस्थायी टहराहरु रहेको गुम्सी पाखा डाँडामा ३२६ रोपनी क्षेत्रफलमा नयाँ वस्ती विकाश गरिने छ ।

गैरआवासीय नेपाली संघले करिव ३५ करोड रुपैयाँको लागतमा एक हजार घर निर्माण गर्ने घोषणा गरेकोमा सरकारले पहिलो चरणमा लाप्राकलाई नमुना वस्ती बनाउन स्वीकृति प्रदान गरेको हो ।

दुःखलाई सुखमा बदल्नुपर्छ– राष्ट्रपति
Bidhya-Bhandari

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले अब दुःख मानेर बसिरहने अबस्था नहरहेकाले मेहेनत र परिश्रम गरेर दुःखलाई सुखमा बदल्नुपर्ने बताउनुयो ।

‘आफ्नो देश आफैले बनाउनुपर्छ’ राष्ट्रपति भण्डारीले भन्नुभयो– ‘त्यसैले म युवाहरुलाई पुनःनिर्माण अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गर्दछु ।’

उहाँले स्थानीयस्तरमा रहेका सम्भाब्यतालाई पहिचान गरी त्यसको विकाश गर्नुपर्ने बताउनुभयो । गाउँमा पर्याप्त रोजगारी नहुँदा युवाहरु बैदेशिक रोजगारीमा जानुपरेको भन्दै उहाँले स्थानीयस्तरमै रोजागरी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब लाप्राकलाई नमुना वस्ती बनाउने कार्य अगाडी बढ्ने भन्दै यसको अगुवाई गरेकोमा गैरआवासीय नेपाली संघलाई धन्यबाद दिनुभयो ।

साँच्चै नमुना वस्ती बनाउँछौं– घले

Shes-ghale

सो अबसरमा एनआरएन अध्यक्ष घलेले लाप्राकमा केवर ओत लाग्ने घरमात्र बनाउने नभई नमुना वस्ती बनाउने उदेश्य रहेकाले सवै पक्षको सहयोग आबश्यक रहेको बताउनुभयो ।

‘अब गाउँ बनाउने जिम्मा तपाइँ–हाम्रो काँधमा आएको छ । तपाइँ–हामीले हातमा हात मिलाएर काँधमा काँध मिलाएर लाप्राक गाउँलाई साँच्चिकै नमुना बनाउनु छ ।’ घलेले भन्नुभयो–‘ नमुना गाउँ बनाउन हामीवीच नमुना देखाउन लायककै सहकार्य हुने छ भन्ने मैले विश्वास लिएको छु ।’

राष्ट्र पुनःनिर्माणमा सच्चा साझेदार बन्ने गैरआवासीय नेपालीहरुको चाहनाको कार्यन्वयन आजबाट सुरु भएको भन्दै उहाँले यो कार्य आफैमा चुनौतीपूर्ण रहेको बताउनुभयो । नमुना वस्ती बनाउने कार्य सरकार, लाप्राकबासी र एनआरएन सवै पक्षका लागि पहिलो अनुभव भएकाले सवैबाट सहयोग आबश्यक रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गैरआवासीय नेपाली संघको अगुवाईमा अब लाप्राकलाई नेपालकै नमुना गाउँका रुपमा विकाश गरिने बताउनुभयो । वस्ती विकाशमा गैरआवासीय नेपाली संघले लगानी गर्ने र गाउँसम्म आउने बाटो, पानी र बिजुलीका लागि सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । आजकै दिनबाट एनआरएन र सरकार मिलेर पुनःनिर्माणको सुखद् सन्देश दिन सकिएको भन्दै उहाँले खुसी ब्यक्त गर्नुभयो ।