१ कार्तिक २०८३, आइतबार

भारतले फेरि राख्यो शर्त, नमान्दा बर्दियाका हुलाकी सडक अलपत्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bardiya-sadak

– सुदीप अधिकारी
बर्दिया, ११ वैशाख । बर्दियाको मुर्तिहा–गुलरिया–भुरिगाउँ हुलाकी सडक स्तरोन्नतीका लागि ठेकेदार छनौट भएको चार महिना बित्यो । तर रकमको सम्झौता भने अझै हुन सकेको छैन । समयमै सम्झौता नहुँदा हुलाकी सडक अलपत्र अवस्थामा छ ।

सडक निर्माण बिचैमा छड्दा आवतजावत गर्न यतीखेर जनतालाई निकै सास्ती भएको छ । सडकमा जहाँतही खल्डाखुल्डी छन् । बर्खामा सडक हिलाम्मे हुन्छ । भने आजभोली सडक धुलाम्य छ ।

सडक निमार्णको दाता भारत सरकार हो । भारत सरकारले आफैले ठेकेदार छनौट गरी सन् २०११ सेप्टेम्बरदेखि हुलाकी सडकको स्तरोन्नतीको काम सुरु गरेको थियो । तर, काम सुरु गरेको चार वर्ष बित्दा (सन् २०१४ मार्च) पनि भारतीय ठेकेदारले २५ प्रतिशत काम सकेन । अनी ठेक्का सम्झौता तोडियो । त्यस यता हुलाकी सडकको बिजोग छ ।

पछिल्लो पटक भारत सरकारकै सहयोगमा नेपाली ठेकेदार कम्पनीबाट काम गराउने गरी प्रकृया अघि बढाइएको छ । तर यो प्रकृया अझै कागजमै सिमित छ ।

भारतीय पक्षले विभिन्न सर्तहरु तेरस्याएर प्रकृयालाई रोकेको बताइएको छ । ठेकेदार कम्पनी नेपालको भएपनि परमर्शदाता आफनो हुनु पर्ने, सडक स्तरोन्नतीका लागि सडकमा पर्ने घर, जग्गा, रुख लगायतका विभिन्न पक्षहरु नब्बे प्रतिशत पुरा भएको हुनुपर्ने लगायत विभिन्न सर्तहरु भरत सरकारले राखेकाले प्रकृया लम्बिएको हुलाकी सडक आयोजना नेपालगंजका प्रमुख तुरुन्त मण्डलले बताए ।

सडक निमार्णका लागि करिव ६२ करोड रुपैयाँको सम्झौता हुने तयारीमा रहेको हुलाकी आयोजना प्रमुख मण्डलले बताए । पुरानो सम्झौता करिव ४१ करोडको थियो । समय लम्बिएसँगै आयोजनाको लागत पनि बढेको बताइएको छ ।