
काठमाडौं, ७ वैशाख । आगामी आर्थिक वर्ष २०७३/७४ को बजेटबारे छलफल गर्न व्यवस्थापिका संसद्को अर्थ समितिले बोलाएको बैठक सांसदहरुले अवज्ञा गरेका छन् ।
मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा सांसदहरु नपुगेपछि १० बजे मात्र बैठक शुरु भएको थियो । ५१ जना सदस्य रहेको अर्थ समितिमा गणपुरक संख्या पु-याउन कम्तिमा १५ जना सांसद उपस्थित हुनुपर्छ । तर बैठकमा नगण्य सांसदमात्र उपस्थित भएका थिए ।
बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री विष्णु पौडेल छोटो मन्तव्य राखेर बाहिरिनुभएको थियो । मन्तव्य राख्ने क्रममासमेत मन्त्री पौडेलले संसद्का समितिहरुबीच समन्वय नहुने र धेरै समितिले बोलाउने गरेको गुनासो गर्नुभयो । उहाँले संसदीय समितिमा छलफलका लागि बोलाउँदा आफूहरुसँग सल्लाह गर्न सुझाव दिनुभयो ।
मन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटको मुख्य लक्ष्य आर्थिक वृद्धि र रोजगारीको सिर्जना गर्नु हुने जानकारी दिनुभयो । उहाँ आफ्नो मन्तव्य सकेर तत्कालै समितिको बैठकबाट बाहिरिनुभएको थियो । अर्थमन्त्री चाँडो हिँडेको भन्दै सांसदहरुले गुनासो गरेका थिए ।
छलफलमा अर्थमन्त्री नै नभएपछि सांसदहरुले अर्को बैठक बोलाउन माग गरेका थिए । उनीहरुले अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष र दुवै संस्थाका सचिवको अनिवार्य उपस्थिति हुने गरी बैठक बोलाउन माग गरेपछि समितिको बहुमतले प्रस्ताव पारित गरेको थियो । समितिका सभापति प्रकाश ज्वालाले आगामी केही दिनभित्रै नयाँ बजेटबारे छलफल गर्न समितिको बैठक बोलाइने जानकारी दिनुभयो ।















प्रतिक्रिया