काठमाडौं, ५ वैशाख । जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको नामबाट स्थापित मदन–आश्रित पत्रकारिता पुरस्कारका लागि छनोट समिति गठन गरिएको छ ।
आइतबार नेकपा एमालेको केन्द्रीय प्रचार विभागले बरिष्ठ पत्रकार नारायण ढकालको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको हो । जसमा पत्रकार महासंघका पूर्व सभापति शिव गाउँले र साहित्यकार बासुदेव अधिकारी सदस्य रहेका छन् ।
प्रत्येक वर्ष जेठ ३ गते (मदन-आश्रित स्मृति दिवस) को सन्दर्भमा यो पुरस्कार वितरण गरिँदै आएको छ । यसवर्ष प्रवासी नेपाली मञ्च मलेसियाले ५० हजार राशीको पुरस्कारको सौजन्य गरेको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्वहरु जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितका योगदानहरुलाई चिरस्थायी गर्न, विशेष गरी नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज)का नेतृत्वकर्ता मदन भण्डारी र बहुदलीय जनवादका बारेमा थप अध्ययन तथा अनुसन्धानलाई निरन्तरता दिने उद्देश्यका साथ यो पुरस्कारको स्थापना भएको केन्द्रीय प्रचार विभाग प्रमुख एवं एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।












प्रतिक्रिया