१८ कार्तिक २०८३, बुधबार

अमेरिकामा आज मध्यावधि निर्वाचन : तल्लो सदनको ४३५ सिट र माथिल्लो सदनको ३५ सिटका लागि मतदान हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राज्य अमेरिकामा आज मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ । यो निर्वाचनमा अमेरिकी कंग्रेस (संसद)को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुनेछ ।

अमेरिकामा मध्यावधि निर्वाचन राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि हुने गरेको छ ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको कंग्रेसका दुवै सदनमा बहुमत छ । यदि यीमध्ये कुनै एक सदनमा पनि पार्टीले आफ्नो बहुमत गुमायो भने ट्रम्पका एजेन्डासँग सम्बन्धित कानुनहरू पारित गराउन ट्रम्पलाई कठिन हुनेछ ।

अमेरिकी कंग्रेसका दुवै सदनमा बहुमत प्राप्त गर्न निश्चित संख्यामा सिट जित्नु आवश्यक हुन्छ ।

सिनेटमा जम्मा १०० सिट छ । अहिले ट्रम्प रिपब्लिकन पार्टीसँग ५३ सिट छ भने डेमोक्र्याटिक पार्टीसँग ४५ सिट छ । यसबाहेक २ जना स्वतन्त्र सिनेटरहरू पनि छन् । यसपटक सिनेटका ३५ सिटका लागि निर्वाचन हुनेछ । यसमध्ये २२ सिट रिपब्लिकन पार्टीसँग र १३ सिट डेमोक्र्याटिक पार्टीसँग छ ।

यस्तै, अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा कुल ४३५ सिट छ । यस सदनमा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । यसपटक तल्लो सदनका सबै ४३५ सिटका लागि निर्वाचन हुँदैछ, जसको अर्थ प्रत्येक सिटका लागि प्रतिस्पर्धा हुनेछ । जुन दलले २१८ वा सोभन्दा बढी सिट जित्छ, उसले सदनमा बहुमत प्राप्त गर्नेछ ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टी र डेमोक्र्याटले दुवै सदनमा बहुमत हासिल गर्ने लक्ष्य राखेको छ ।

इरानसँगको युद्ध, बढ्दो मुद्रास्फीति र आर्थिक नीतिहरूप्रति सार्वजनिक असन्तुष्टिबीच आज हुन लागेको मध्यावधि निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याटबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।