३० आश्विन २०८३, शुक्रबार

सुनकोसी नदी फुटे कुन-कुन जिल्लामा खतरा ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkosi16

काठमाडौं, १७ साउन । सिन्धुपाल्चोक जुरेस्थित पहाडको ढिस्को खसेर सुनकोसी थुनिएपछि पूर्वाञ्चलका तीन जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

सुनकोसीको पानी पूर्ववत् रुपमा बग्न नपाएको खण्डमा सप्तकोसीमा मिसिने सम्भावना अत्यधिक रहेको र त्यसो भएको अवस्थामा व्यापकरुपमा धनजनको क्षति हुन सक्ने भएकाले सुनसरी, सप्तरी र उदयपुरमा उच्च सतर्कता अपनाइको हो ।

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक महाश्रम शर्माले पूर्वाञ्चलका सुनसरी, सप्तरी र उदयपुर जिल्लामा आज बिहान बसेको सुरक्षा समितिको बैठकले सर्वसाधारणलाई सचेत गराउन माइकिङ गराउने, जनतालाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सार्नका लागि व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गर्नेलगायतका निर्णय भएको बताउनुभयो ।

सुनसरीको प्रभावित क्षेत्रमा माइकिङसमेत भइरहेको र सप्तरी तथा उदयपुर जिल्लामा पनि माइकिङको तयारी भइरहेको जानकारी गराउँदै उहाँले प्रत्येक क्षणको वस्तुस्थितिलाई अध्ययन गर्न सुरक्षाका सम्पूर्ण निकायलाई सक्रिय अवस्थामा रहन निर्देश जारी गरिएको उल्लेख गर्नु भयो ।

थुनिएको स्थानबाट ढिस्को हटाइएपछि तीव्रगतिले पानीको बहाव भएको खण्डमा कोसी नदीको तटबन्ध र पुल भत्किन सक्ने सम्भावना रहेको र यसबाट सुनसरी, सप्तरी र उदयपुरका साथै भारत विहारका ५०० भन्दा बढी गाविस डुबानमा पर्ने सम्भावना देखिन्छ ।

सङ्कटग्रस्त क्षेत्र घोषणा

गृह मन्त्रालयले सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी÷सुनकोसी नदीमा आएको पहिरोका कारण नदी थुनिएकाले त्यस नदीबाट प्रभावित हुने तटीय क्षेत्रका सम्बन्धित जिल्लाका नदी किनाराका दायाँबायाँको २०० मिटरसम्म सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा आज बिहान आकस्मिक रुपमा बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले यो निर्णय गरेको हो ।

सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ अन्तर्गत माङ्खा गाविसको जुरे भन्ने स्थानमा अविरल वर्षाका कारण आएको चट्टानको पहिरोबाट त्यस क्षेत्रमा बग्ने भोटेकोसी÷सुनकोसी नदी थुनिएपछि बसेको आकस्मिक बैठकले तत्काल नदीको बहाव खोल्न आवश्यक सम्पूर्ण उपाय अपनाउन सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ ।

बैठकले नेपाली सेनाको नेतृत्वमा आवश्यक सङ्ख्यामा सम्पूर्ण सुरक्षा निकाय परिचालन गरी थुनिएको स्थानमा विष्फोटन वा अन्य कुनै उपायबाट पानीको बहाव तुरुन्त खुलाउने निर्णय गरेको छ ।

sunkoshi17यसैगरी बैठकले सोको अनुमोदनका लागि गृह मन्त्रालयमार्फत नेपाल सरकारमा लेखी पठाउने, दुर्घटनाबाट सम्भाव्य प्रभावित क्षेत्रका बासिन्दालाई तुरुन्त अन्यत्र सार्ने प्रबन्ध मिलाउने, घाइतेहरुको तत्काल उद्धार र उपचार गराउने तथा अन्यत्र सारिएकाहरुको खानपिन र बसोवासको व्यवस्था जिल्ला दैवी प्रकोप, उद्धार समितिलाई मिलाउन निर्देशन दिएको छ ।

खोज, उद्धार तथा राहत कार्यका लागि सबै सरकारी / गैरसरकारी निकाय तथा सुरक्षा निकायहरुसँग भएको स्रोत साधनहरु जिल्ला दैवी प्रकोप उद्धार समितिको संयोजनमा परिचालन गर्ने, निजी क्षेत्रका हेलिकप्टरहरुलाई आवश्यक परेका बेलामा उद्धार कार्यमा परिचालन हुने गरी तयारी अवस्थामा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा सहसचिवको नेतृत्वमा कमाण्ड पोष्ट खडा गरी तत्काल सूचना सङ्कलन, समन्वय र निर्देशन गर्ने तथा सम्बद्ध तल्लो तटीय जिल्लाहरुमा प्रजिअहरुलाई कमाण्ड पोष्ट खडा गरी निरन्तर सूचना सम्प्रेषण, समन्वय र परिचालन गर्ने व्यवस्था मिलाउने निर्देशन दिने, मृतकहरुको आफन्त सम्पर्कमा भए त्यही जिम्मा लगाइदिने र आफन्तहरु सम्पर्कमा नआएमा नजिकको अस्पतालमा राख्ने व्यवस्था जिल्ला दैवी प्रकोप उद्धार समितिले मिलाउने, भोटेकोसी÷सुनकोसी नदीको बहाव थुनिएपश्चात् उत्पन्न परिस्थितिले पार्न सक्ने प्रभावलाई मध्यनजर राखी उद्धार तथा राहतका लागि छिमेकी मित्रराष्ट्र भारत र चीनलाई अनुरोध गर्न परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने, कोसी ब्यारेजको ढोकाहरु खोल्न कूटनीतिक पहल हुन परराष्ट्र मन्त्रालयमा लेखी पठाउने निर्णय बैठकले गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, सहरी विकास मन्त्री डा नारायण खडका, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, मुख्य सचिव लीलामणि पौडेल तथा केन्द्रीय दैवी प्रकोप उद्धार समितिका पदाधिकारीहरु तथा सिन्धुपाल्चोक क्षेत्र न १ का सभासद् मोहनबहादुर बस्नेतसमेतको उपस्थिति रहेको थियो ।

तत्काल उद्धार कार्य अगाडि बढाउन माओवादीको आग्रह

नेकपा–माओवादीले सिन्धुपाल्चोक जिल्लास्थित सुनकोसी नदी पहिरोले थुनिएको घटनामा परी जनधनको क्षति भएको भन्दै तत्काल उद्धार कार्य अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ ।

माओवादीका प्रवक्ता पम्फा भुसालले आज एक विज्ञप्ति प्रकाशित गरी यथाशीघ्र प्रभावित क्षेत्रमा धनजनको सुरक्षार्थ सबै प्रकारका कदम चाल्न आग्रह गर्नुभएको छ ।

प्राकृतिक दुःखद् घडीमा प्रभावित क्षेत्रका जनताको उद्धार र राहत कार्यमा सक्रिय ढङ्गले लाग्न उहाँले स्थानीय पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।