
– नरेश केसी
भैरहवा, ३ बैशाख । नयां वर्ष २०७३ लाई रुपन्देहीबासीले जोडतोडका साथ स्वागत गरेका छन् ।
वर्ष २०७२ को नाकाबन्दी र मधेस आन्दोलनको बाबजुद काठमाडौं र नेपालको मुख्य शहरमा इन्धन र खाद्यान्न आपूर्ति गरेर नाम कमाएको रुपन्देहीले नयां वर्षमा पनि रेकर्ड तोडेको छ ।
नयां वर्षको स्वागतमा भैरहवाको सडकमा एकैचोटी पचासौं हजार मानिसको उपस्थित भयो । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाको मुख्य आयोजना तथा सिद्धार्थ होटल एशोसियसन (सान) प्रबद्र्धक तथा आयोजक र सिद्धार्थ एशोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस (साट्टा) सह आयोजक रहेको सडक खाना महोत्सवमा आएका मान्छेहरुको कारण बेलहिया भैरहवा ६ लेन सडकखण्ड खचाखच भएको थियो ।

सांझ ६ बजेदेखी शुरु भएको महोत्सव राती बजेसम्म चल्दा पनि मान्छेहरुको उपस्थिती घट्दै नघट्दा आयोजक दंग देखिन्थे । महोत्सव मुख्य आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्माले भने खुसी प्रकट गर्दै सन्चारकर्मिसंग भने “सोचे भन्दा बढी मानिसहरु सडक महोत्सवमा आए । हामीहरु अत्यन्तै उत्साहित छौं । ”
महोत्सवमा चर्चित हास्य कलाकार मनोज गजुरेलले लुम्बिनीले विश्वमा शान्तिको सन्देश छरेको जनाउदैं लुम्बिनीको प्रवेशद्वार भैरहवामा आयोजना गरेको महोत्सवको उपस्थिीतिले आफुलाई हौसाएको बताए । गजुरेले उपस्थित दर्शकलाई पेट मिची मिची हसाएका थिए ।
महोत्सवमा गजुरेलको धाराप्रवाह समसामयीक राजनितीक व्यंग्यात्मक प्रवचन र लुम्बिनीको विराह नाचका साथैं स्वदेशी तथा विदेशी खानाका परिकारहरु पनि थियो । फुड फेस्टीभलमा तयार गरी लगिएका धेरै जसो स्टलको खाना ९ बजेभित्र नै सकिदां व्यापारीहरु पनि मख्ख देखिन्थे । स्टलमा खाना सकिएपछि सडकको दायांबायांको रेष्टुरेन्ट र होटलहरुमा मान्छेहरुको खचाखची देख्न सकिन्थ्यो ।

सडक खाना महोत्सवले दर्शकलाई भरमग्धुर सन्तुष्टि प्रदान गरेको, सहभागी स्टलहरु कसैको खाना नबचेको तथा हजारौं मानिसहरुको सहभागीताले आफुहरु अत्यन्तै उत्साहित भएको आयोजक संस्था सिद्धार्थ होटल एशोसियसन (सान) का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी बताए ।
सडक खाना महोत्सव अत्यन्तै ऐतिहासीक र उपलब्धीमूलक भएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिती सदस्य समेत रहेका सडक खाना महोत्सवका संयोजक गोविन्द प्रसाद ज्ञवालीले जनाए ।
उनले भने “यस्ता कार्यक्रम धेरै गरियो तर मेरो जीवनको सबैभन्दा ठूलो र महत्वपुर्ण बन्न पुग्यो सडक खाना महोत्सव । यत्तिका मान्छे आउने मैले कल्पना गरेको थिइन । यति मान्छे आएकी मेरो खुसीको सीमा छैन । ”
स्ट्रिट फेस्टिबलमा अष्ट्रिचको मोमो , बारबिक्यु देखि छपियाको माछा लगायत नेवारी, मगर, गुरुंग, थारु, मारवाडी, क्षेत्री लगायतका बिभिन्न जातजातीका खानाहरु लगायत स्वदेशी एवं विदेशी परिकार राखिएको थियो ।
फेस्टिबलमा चर्चित हाश्यब्यंग कलाकार मनोज गजुरेलका साथै चर्चित गित पारी त्यो डाडामा घाम लाग्यो हेरन बोलका गायक कालिप्रसाद बास्कोटा, गायीका मनिषा पोखरेलका साथै भैरहवा आईडलका बिजेताहरु स्वेता ठकुरी, सुभाष लुईटेल, बुटवल आईडल निपा क्षेत्री र डिजे तामाको समेत प्रस्तुती रहेको थियो ।
सफलतापुर्वक सम्पन्न भएको महोत्सवमा सहभागी दर्शकको कारण आगमी वर्ष पनि निरन्तरता दिनकोलागी प्रेरणा दिएको सह आयोजक सिद्धार्थ एशोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस (साट्टा) का अध्यक्ष सागर अधिकारीले बताए।
महोत्सवमा सांसद इस्तीयाक अहमद खान, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, एसएसपी शेरबहादुर बस्नेत, समाजसेवी भरत पोखरेल लगायतले शुभकामना मन्तब्य राख्दै भैरहवाको सडक खाना महोत्सवमा सहभागी दर्शकको संख्या ऐतिहासीक भएको बताएका थिए ।

यसैबीच नयांवर्षकै अवसरमा उद्योग व्यापार संगठन रुपन्देही र शाखा देवदहको आयोजनामा देवदहमा ५० केजीको केक काटेर नयां वर्षलाई स्वागत गरिएको संगठनका जिल्ला अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी गराए ।
उद्योग व्यापार संगठन देवदह शाखाका अध्यक्ष गोविन्द ठटराईको अध्यक्षतामा सम्पन्न समारोहमा कलाकारहरुले दर्शकहरुलाई नचाएका थिए । यता लुम्बिनी स्थित पर्सा चौरहामा पनि नयां वर्ष उत्सव मनाइएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देही, उद्योग व्यापार संगठन रुपन्देही र शाखा लुम्बिनीको संयुक्त आयोजनामा भएको कार्यक्रममा लुम्बिनी स्थित तारे होटल देखी स्थानिय खानाका परिकारहरु सडकमा राखिएको थियो ।
उद्योग व्यापार संगठन लुम्बिनी शाखाका अध्यक्ष कृष्ण गुरुंगको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय कलाकारको बेजोड प्रस्तुति रहेको र उक्त कार्यक्रममा संगठनका जिल्लाका निवर्तमान अध्यक्ष खिमबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, संगठनका जिल्ला अध्यक्ष नारायण प्रसाद भण्डारी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामचन्द्र रेग्मी लगायतले शुभकामना मन्तब्य राखेको थिए । लुम्बिनीमा भएको नयां वर्षको कार्यक्रमले आफुहरुलाई उत्साहित बनाएको संगठनका सहसचिव गिरी प्रसाद घिमीरेले जनाए ।
















प्रतिक्रिया